दाङका सिद्धान्त केसीले ‘मिष्टर नेपाल इन्टरनेशनल २०२६’ को उपाधि जिते



दाङका सिद्धान्त केसीले ‘मिष्टर नेपाल इन्टरनेशनल २०२६’ को उपाधि जितेका छन्।

तुलसीपुर उपमहानगरपालिका–६ निवासी केसीले साउन ९ गते सम्पन्न प्रतियोगिताको फिनालेमा सहभागी १२ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्न सफल भएका हुन्।

ज्ञानज्योति माध्यमिक विद्यालय, तुलसीपुरबाट प्लस टु अध्ययन पूरा गरेका केसी हाल काठमाडौंमा इन्जिनियरिङ अध्ययनरत छन्। अध्ययनसँगै व्यक्तित्व विकास, नेतृत्व क्षमता र आत्मविश्वासलाई निखार्दै उनले राष्ट्रिय स्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका हुन्।

‘डेनिस नेसनल’को प्रस्तुति तथा ‘नोभा ब्यूटी इन्टरनेसनल प्रालि’को आयोजनामा भएको प्रतियोगितामा नेतृत्व क्षमता, व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, सञ्चार सीप, फिटनेस, ग्रुमिङ र र्‍याम्प प्रशिक्षणका आधारमा मूल्याङ्कन गरिएको थियो।

उपाधि विजेता सिद्धान्त केसीले आगामी सेप्टेम्बरमा थाइल्यान्डमा आयोजना हुने १८औँ ‘मिस्टर इन्टरनेशनल’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्। यसअघि उनले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि विदेशी पेजेन्ट मेन्टरबाट विशेष प्रशिक्षणसमेत प्राप्त गर्नेछन्।

यस वर्षको प्रतियोगिताको नारा ‘एक थोपा, एक जीवन’ राखिएको थियो, जसको उद्देश्य रक्त क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्नु तथा रक्तदानको महत्वबारे सचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्