तीजलाई मौलिकता र सन्देशमूलक बनाउँदै लैजानुपर्छ : शान्ता चौधरी



नेकपा एमाले पोलिटव्युरो सदस्य शान्ता चौधरीले तीज पर्वलाई मौलिकता र सन्देशमूलक तरिकाले मनाउनुपर्नेमा जोड दिनुभएको छ ।

शुक्रबार दाङको घोराहीमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको प्रदेशस्तरीय तीज विशेष कार्यक्रम अन्तरगत “तीज पर्व र महिला सशक्तीकरण” विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि चौधरीले पछिल्लो समयमा तीज भड्किलो, खर्चिलो र उच्छृङ्खल बन्न थालेको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले एक महिना अघिदेखि दर खाने परिपाटी अन्त्य गर्नुपर्ने समेत सुझाव दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सीता सिग्देल न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरे, प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्य, प्रगतिशील प्रेस संगठनका सदस्य सुशीला आचार्य, अधिवक्ता सुष्मा केसी, अखिल नेपाल महिला संघ दाङकी सचिव पशुपति चौधरीलगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरूले तीज पर्व नेपालको कला–संस्कृति जगेर्नामा महत्त्वपूर्ण हुने भन्दै यसलाई भड्किलो र खर्चिलो बनाउने प्रवृत्तिलाई रोक्न आवश्यक रहेको धारणा राखेका थिए ।

सो अवसरमा चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालले “तीज पर्व र महिला सशक्तीकरण” विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यपत्रमाथि सञ्चारिका समूह दाङकी अध्यक्ष रञ्जिता शर्माले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा तीज पर्वको महत्त्व समेटिएको भिडियो क्लिप समेत प्रदर्शन गरिएको थियो ।

प्रेस चौतारी दाङका अध्यक्ष ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष लक्ष्मी पोख्रेलले स्वागत मन्तव्य राख्नुभयो भने धन्यवाद ज्ञापन चौतारीका प्रदेश सचिव निता चौधरीले गर्नुभयो ।

कार्यक्रमको सहजिकरण प्रेस चौतारी नेपाल महिला विभाग प्रमुख दिप्तीशिखा चौधरीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८२ भाद्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्