
जिल्ला खोप समन्वय समितिका अध्यक्ष नित्यानन्द शर्माले तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको छ।
तुलसीपुरले लगातार ६ वर्षदेखि पूर्ण खोप सुनिश्चितता कायम गर्दै आएको छ। जिल्ला समन्वय समितिको टोलीले पालिकाभरि बालबालिकाको खोप स्थिति जाँच गर्दा ७ जना बालबालिकालाई पुनः खोप लगाएर पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।
हाल पालिकाभित्र ९ हजार ८ सय बालबालिकाले खोप लगाएका छन् र ६५ वटा खोप केन्द्रमार्फत मासिक खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ।
उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उहाँले बालबालिकालाई नियमित खोप लगाउनका लागि महिला स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको योगदान महत्त्वपूर्ण भएको बताउनुभयो।
नगर प्रमुख टीकाराम खड्काले स्वस्थ जनशक्तिको माध्यमबाट नै समृद्ध नगर बन्ने बताउनुभयाे ।
स्वास्थ्य कार्यालयका किशोरकुमार शर्माले बालबालिकालाई १३ रोगबाट जोगाउन खोप अनिवार्य भएको र १५ महिनाभित्र सबै खोप दिन अभिभावकलाई आग्रह गर्नुभएको छ।

