
अमेरिकाबाट निष्कासित ९५ जना नेपाली नागरिक आज शनिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। अवतरणलगत्तै उनीहरूको आवश्यक कागजी प्रक्रिया सुरु गरिएको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बसन्त रजौरेका अनुसार फिर्ता आएका सबै व्यक्तिको व्यक्तिगत विवरण संकलन गरी प्रारम्भिक सोधपुछ गरिनेछ। त्यसपछि उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाइने र प्रक्रिया पूरा भएपछि परिवारको जिम्मा लगाइने जनाइएको छ।
गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका कारण त्यहाँको सुरक्षा निकायले उनीहरूलाई पक्राउ गरी डिपोर्ट गरेको हो। एकैदिन ९५ जना नेपालीलाई निष्कासन गरी पठाइएको यो हालसम्मकै ठूलो संख्या हो।
यसअघि पनि अमेरिका सरकारले माघ ५ गते ९१ जना, पुस ३ गते ७५ जना र भदौ १९ गते ३७ जना नेपालीलाई एकैदिन डिपोर्ट गरेको थियो।
अमेरिकाले कानुनी आधार बिना बसोबास गर्ने तथा अवैध बाटोबाट प्रवेश गर्ने नेपाली नागरिकलाई निष्कासन गर्दै आएको जनाएको छ। विशेषगरी मानव तस्करीको सञ्जालमार्फत अमेरिका पुगेकाहरू डिपोर्टमा पर्ने गरेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालपछि गैरकानुनी रूपमा बस्दै आएका आप्रवासीमाथि कडाइ बढाइएपछि नेपाली नागरिकसमेत निष्कासनमा पर्ने क्रम जारी रहेको छ।

