तुलसीपुरमा एक महिने नेपाली सांकेतिक भाषा तालिम सुरु,

बहिरा समुदायको अधिकार र पहुँचका लागि माग उठ्न थाले


बहिरा समुदायको संचार अधिकारको प्रवर्द्धन गर्ने उद्देश्यसहित तुलसीपुरमा एक महिने नेपाली सांकेतिक भाषा तालिम सुरु भएको छ। राप्ती बहिरा संघ, दाङको आयोजना र तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु गरिएको तालिमले बहिरा समुदायलाई समाजमा समावेशी बनाउने दिशामा महत्वपूर्ण कदम चालिएको बताइएको छ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले भाषा सबैभन्दा बलियो माध्यम भएको भन्दै, “समाजमा विविधिकरणमा परेका वर्गलाई सचेत गराउने र उनीहरूलाई मूलधारमा ल्याउने काम भाषाले गर्छ,” भन्नुभयो । उहाले सांकेतिक भाषाको संरक्षण र प्रवर्द्धनलाई सामाजिक अभियानका रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयाे। खड्काले अझै पनि बौद्धिक र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई घोराहीस्थित अपाङ्गता सेवा केन्द्रमा पठाउने काम भइरहेको जानकारी दिनुभयाे।

राप्ती बहिरा संघका अध्यक्ष अजय शर्माले दाङको दङ्गिशरण, बबई, शान्तिनगर लगायतका स्थानीय तहहरूमा पनि यस्तै कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिनुभयाे। उहाले बहिरा समुदायलाई अझै पनि आवश्यक कानुनी सहुलियत तथा पूर्वाधार नपुगेको गुनासो गर्दै, “बहिरा नागरिकलाई ट्राफिक प्रहरीले ‘सुन्न सक्दैनन्’ भनेर सवारी चालक अनुमति पत्र (लाइसेन्स) नदिने गर्छन्, जुन हाम्रो अधिकार विपरीत हो,” भन्नुुभयाे ।

शर्माले नेपालका ऐन, नियम तथा कानुनमा बहिरा व्यक्तिको अवस्था र आवश्यकतालाई सम्बोधन गरिने गरी सुधार आवश्यक रहेको बताउनुभयाे। “यदि कानुन परिवर्तन गर्न सकिन्न भने कम्तीमा दुभाषे व्यवस्था गर्नुपर्ने हुन्छ,” उहाले भन्नुुभयाे ।

सार्वजनिक सेवा प्रवाहमा पनि बहिरा व्यक्तिहरूले ठूलो समस्या भोगिरहेको उल्लेख गर्दै उनले कर कार्यालयदेखि सरकारी विद्यालयसम्म बहिरा व्यक्तिहरूले भाषागत अवरोधका कारण सेवा लिन नसकेको उल्लेख गर्नुभयाे । “शिक्षा शाखामा एक वर्षदेखि काम रोकिएको छ। अंग्रेजी अक्षर बुझ्न कठिनाइ छ भने प्रवचन विधिबाट पठनपाठन गर्दा बहिरा बालबालिकाले बुझ्न गाह्रो हुने गर्छ,” उहाले बताउनुभयाे।

उहाले हरेक सीप विकास कार्यक्रमहरूमा सांकेतिक भाषामा जानकारी प्रदान गर्ने व्यवस्था गरिएमा बहिरा समुदायको पहुँच सहज हुनेमा विश्वास व्यक्त गर्नुभयाे । “यदि पोस्टर, सूचना, वा कार्यक्रम टाँस्दा नै सांकेतिक भाषामा समेत समावेश गरिएको भए धेरै समस्या हटिसक्थ्यो,” शर्माले भन्नुुभयाे ।

साे अवसरमा स्मृति याेगिले साङ्केतिक भाषामा प्रष्ट्याउनुभएकाे थियाे ।

तालिममा सहभागी बहिरा व्यक्तिहरूले समेत आफूहरूलाई समाजले अझै पूर्ण रूपमा नबुझेको महसुस गरिरहेको बताए। उनीहरूले सांकेतिक भाषा सिक्ने अवसरले सामाजिक आत्मविश्वास बढाएको र भविष्यमा रोजगारी तथा शिक्षामा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यस तालिमलाई बहिरा समुदायप्रति स्थानीय तहको सकारात्मक पहलको रूपमा हेरिएको छ। तर, सहभागीहरू र संघका पदाधिकारीहरूले दिगो रूपान्तरणका लागि संघीय र प्रदेश सरकारको नीतिगत सहयोग अपरिहार्य रहेको बताएका छन्।

राप्ती बहिरा संघले आगामी दिनमा नीति निर्माण तहमै आवाज पुर्‍याउनुपर्ने बताउँदै, सांकेतिक भाषा प्रशिक्षणलाई गाउँ-गाउँसम्म विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।

नेपालमा झन्डै ३ लाखभन्दा बढी सुस्त श्रवण क्षमताका व्यक्तिहरू रहेको तथ्याङ्क छ। यिनीहरूका लागि सञ्चार, शिक्षा, स्वास्थ्य र कानुनी पहुँचमा स्पष्ट र समावेशी नीति निर्माण हुन नसक्दा उनीहरू अझै पनि उपेक्षित समुदायकै रूपमा रहँदै आएका छन्।

तुलसीपुरमा सुरु भएको यो तालिम बहिरा समुदायको सशक्तीकरणको एउटा सशक्त थालनी हो, जसले बहिरा अधिकारका लागि राष्ट्रिय बहसलाई पनि अगाडि बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्