बसन्त पाैडेल
अन्नबाली खाएर सताउने, त्यसमाथि उत्पादन नहुँदा खेतिपातीले वर्षदिन खान नपुग्ने समस्या गाउँमा थियो। अहिले मालागेडी बेचेर आम्दानी राम्रो हुन थालेको छ। “एक क्विन्टल बेचेर चार-पाँच जनाको परिवारलाई वर्षदिन खाने अन्न किन्न सकिन्छ,” उहाँले भन्नुभयाे। पुर्खाहरूले कामचलाउका रूपमा खेति गरेको भएपनि अहिले व्यावसायिक रूपमा सुरु भएको छ। मालागेडीका बिरुवा रोप्न चाहने किसानहरूलाई डिभिजन वन कार्यालय दाङले बिरुवा निःशुल्क उपलब्ध गराउँदै आएको छ।
चैतमा फूल फुल्ने र मंसिरको अन्तिमसम्म पाक्ने मालागेडी भारतीय बजारमा निर्यात हुने गरेको छ। यहाँ खाद्य बाली उत्पादन नभए पनि दुर्लभ वनस्पति मालागेडी भने प्रशस्त पाइन्छ। खेतिपातीको तुलनामा मालागेडी आम्दानीको राम्रो स्रोत बनेको स्थानीय पहलबहादुर खड्काले बताउनुभयो। उहाँको बारीमा पनि ७० वटा मालागेडीका बोट छन्। गत वर्ष उहाँले प्रतिक्विन्टल ६० हजारका दरले बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गर्नुभएको थियो।
अन्नबाली लगाउँदा दुई-तीन महिना खान नपुग्ने जमिनमा मालागेडी रोपेर राम्रो आम्दानी हुन थालेपछि सबैजसो किसानहरू अन्नबाली लगाउन छाडेर मालागेडीका बिरुवा रोप्न थालेका छन्। सडक पूर्वाधारको विकास नहुँदा किसानहरू बिचौलियाको भर पर्नुपर्ने अवस्था रहेको खड्काले दुःखेसो गर्नुभयो।
मालागेडी उत्पादन हुने सिजनमा व्यापारीहरू खरिदका लागि गाउँमै आइपुग्छन्। बेच्नलाई सहज भए पनि बिचौलियाको रजगजले किसानहरूले भनेअनुसारको मूल्य पाउन नसकेको स्थानीयहरू बताउँछन्। अहिले प्रतिक्विन्टल ४० हजारदेखि ५० हजारसम्म बिक्री भइरहेको छ। गत वर्ष यो सिजनमा प्रतिक्विन्टल ७० हजार रुपैयाँसम्ममा किसानले मालागेडी बिक्री गरेका थिए।
नुहाउने साबुन, स्याम्पु, अत्तर, अगरबत्ती लगायतका सामग्री निर्माणमा कच्चा पदार्थका रूपमा प्रयोग गरिएको छ। अगरबत्ती त गाउँमै उत्पादन गरेर प्रयोगसमेत गरिसकेका छन्।
डिभिजन वन कार्यालय, दाङका सूचना अधिकारी टेकन आचार्यका अनुसार दाङ जिल्लामा मुख्यतः छिल्लीकोट र बंगलाचुली गाउँपालिकाको पहाडी क्षेत्रमा मालागेडी उत्पादन हुने गरेको छ। गत वर्ष निजी वनबाट १ लाख ३९ हजार ६२० किलो र राष्ट्रिय वनबाट १,५०० किलो गरी कुल १ लाख ४१ हजार ५१५ किलो मालागेडी निर्यात भएको थियो।
राष्ट्रिय वनबाट निकासी गर्दा प्रतिकेजी १० रुपैयाँ राजस्व लिइन्छ, तर निजी वनका लागि छुट रहेको छ। गएको वर्ष करिब साढे आठ करोड रुपैयाँ बराबरको मालागेडी निर्यात भएको थियो, भने चालु आर्थिक वर्षको पुस महिनासम्म ५९ हजार किलो मालागेडी निर्यात भइसकेको छ।सरदर प्रतिक्विन्टल ५० हजारका दरले बिक्री हुँदा पनि चालु वर्षको पुससम्म करिब तीन करोड बराबरको मालागेडी निर्यात भएकाे हाे ।
गत वर्षको तुलनामा भनेजस्तो मूल्य पाउन नसक्दा धेरै किसानले अहिले नै बिक्री गर्न चाहेका छैनन्। गाउँमा गत वर्षको तुलनामा उत्पादन धेरै रहेको स्थानीय व्यापारी विकास खड्काले बताउनुभयो। मूल्य बढ्ने आशमा किसानहरूले बिक्री नगरी भण्डारण गरेर राखेका छन् ।