नारी सचेतना र जागरणमा आधारित उपन्यास ” परिवर्तित अनुहार माथि घोत्लिदा



भारत दार्जीलिङ निवासी नारिवादी उपन्यासकार आदरणीय रिना सुब्बाद्वारा लिखित उपन्यास ” परिवर्तित अनुहार ” पढी सो बारेमा एक पाठकिय बिचार टिप्पणी राख्ने कोशिस गर्दैछु ।
भनिन्छ – साहित्य समाजको दर्पण र भौतिक प्रतिबिम्ब हो । एक लेखक , कवि, गीतकार र साहित्यकारले समाजमा भएका यावत घटना प्रक्रियालाई गम्भीर स्रोता र पाठक बनी नियालिरहेको हुन्छ । स- साना घटना शृङ्खलाले उसको सम्वेदनशिल मिजासलाइ छोएको हुन्छ । यसै सन्दर्भमा उसको मस्तिष्क मन्थनको उर्जाबाट सृजित बिचार र धारणालाई कलमको निब र कम्प्युटरको माउस प्रयोग गरि बिमर्शको लागि दुनियाँलाई बांड्न चाहन्छ ।
  यसरी बिचार प्रवाह गर्दा एउटै घटनाक्रम र जीवन जगतलाई हेर्ने बिश्वब्यापी दृष्टिकोणमा हेरेका आ- आफ्ना बुझाइ, ठम्याइ र दार्शनिक मान्यता रहन सक्छन् ।
  यसै सन्दर्भमा उपन्यासकार रिनाजिका पनि बिषयबस्तुलाइ हेर्ने दृष्टिकोण र समझ छन् । ती समझ र दृष्टिकोण बिल्कुलै तार्किक ,समतामूलक समाज निर्माण हेतु न्यायको कसिमा घोटिएका,जागरुक र उत्प्रेरित हुने खालका छन् ।उहाँका बुझाइ र ठम्याइ कोरा भाबुकता र भावनामा नबहकिइ अथार्त समस्या उठान मात्र नगरी समस्या उत्पन्न हुनाका कारण र समाधानका उपाय पहिल्याउने प्रयत्नमा कृयाशिल छन् ।
   खासगरी युगौ देखि समाजमा पुरुष प्रधान समाजले कसरी आम आमा छोरी दिदिबहिनी र महिला  माथी धार्मिक सत्ता , सामाजिक मूल्य मान्यता र नैतिकताको मखमली बर्को ओढाइ , पढाइ पुरुष द्वारा आफू माथी जस्तो किसिमको अन्याय र अत्याचार हुंदा पनि सहेर बस्न,मुक रहन, चुप र मौन रहन , कथित अनुशासित र संस्कारित छोरी बुहारी भएको रुपमा दरिन अर्ह्यायो ? कथं ज्यादती उपर बोलेमा, प्रतिबाद र प्रतिकार गरेमा, कानुनी कारवाहीको बाटो तय गरेमा मुखाले, छाडा, ज्याद्री, बेसोमती,संस्कारहिन र लच्छिन नभएकिको रुप्मा अर्थ्यायो ? र खेद्यो ?
  धर्म, नैतिकता र सामाजिक मूल्य मान्यताको आडमा कुत्सित स्वार्थ, मनपरितन्त्र लाद्न उद्द्त रहदै हेपाहा, थिचाहा, हिंस्रक , पिडक, अमानवीयता र संबेदनहिन व्यबहार आचरण गर्न मन गर्यो ?  यसबारेमा उपन्यासकार रिनाजिले म पात्र अथार्त सुशीला (क्रान्ति )उषा , शर्मिला ,सुजु, रोशनी , सुनिता , सुजित ,सतिश, रोजि,जरिना,सुजन जस्ता पात्रहरूको माध्यम द्वारा समाजमा ब्याप्त रुढी ,अन्धबिश्वास, बर्गिय लैङ्गिय अंतर्विरोध ,जातीय छुवाछूत तथा उचनिच र बिभेदजन्य क्रियाकलाप, बोक्सी, डाइनको रुपमा आरोपित र लान्छित हुनुपर्ने अबस्था,परम्परागत सामाजिक मूल्य मान्यता अन्तर्गतका कुरुती र कुसंस्कारका यावत पाटाहरुलाइ उधिन्ने , छिमल्ने, पर्गेल्ने र समस्या समाधानका जुक्तिमा यत्नरत रहने प्रयत्न गरेकि छिन ।
घरदेखि पर सम्म आमा दिदिबहिनी छोरी बुहारी माथी पुरुष ज्यादतीका शारीरिक, मानसिक हिंसा,शोषण र दलनका हर्कतलाइ लेखकले विभिन्न पात्रहरूको चरीत्र अभिनय र प्रस्तुति मार्फत पत्रपत्र गरि उधिन्ने र केलाउने प्रयत्न गरेकी छिन् ।
उपन्यासको मुख्य पात्र तथा नायिका शुसिला (क्रान्ति ) स्वयंमा बच्चैदेखि बिद्रोही, सचेत र संबेदनसिल मिजासकी छे उ आफ्नो गाउँघर, शहर बजार, टोल , चोक चौतारी,बस या टेम्पोमा यात्रारत अबस्थामा  र नेरफेरका स्थानहरुमा बिशेषत महिला माथी पुरुषहरु द्वारा गरिने  छेडखानी ,शारीरिक तथा मानसिक हिंसा , उत्पिडन, दलन र शोषण विरुद्ध सशक्त रुपमा खडा भएकि छ ।
आफू माथिका जुनसुकै किसिमका हिंसा र उत्पीडनलाई चुपचाप सहेर नबस्न, लुते, दब्बु र हिन मनोभावनाका साथ प्रस्तुत नहुन, आत्मबल र नैतिक साहसका साथ अगाडि बढ्न र जुध्न  सम्बन्धित पक्षलाई घच्घच्याउंदै अन्यायी र पिडकको मिचाहा, पिराहा र हेपाहापनलाई सबक सिकाउदै उसको नुर गिराउन, आइन्दा सच्चिने र सच्याउने कबोलनामा गर्न बाध्य पार्ने यत्नमा जुटि हमेसा पीडितको पक्षमा न्यायको पैरबी गर्न अग्रसर हुन्छे ।
जरिना जस्ता पात्र मार्फत  छोरीहरुलाई उसको निजात्मक जिन्दगीको चाह, मनोभावनालाई एकपल्ट पनि नंजाची , नबुझी,छलफल बिमर्श समेत नगरी, नगराइ कसरी अभिभावक भै टोपलेकाहरुनै बिबाह थोपर्न उद्द्त हुन्छन् ? उमेर पुगेका या नपगेका केटाकेटीको इच्छा र चाहना बिपरित बैबाहिक सम्बन्ध कायम गर्ने गराउने परिपाटीले गर्दा हकिकतमा उनीहरुको दाम्पत्य जीवन खुश हाल र पृतिकर हुन किन सक्दैन ? कसरी जरिना जस्ता नारी पात्रहरु नचाहदै आफ्नो घर परिवार र खासगरी जीवन साथिको वर व्यबहारबाट दिनहुँ प्रताडित , दुखी, घाइते र सताइएका हुन्छन् ? कसरी चाहेर पनि पुरुष हिंसा बिरुद्ध चुं बोल्न सकिरहेका छैनन् ?
सुजन र सतिष जस्ता पुरुष पात्र र प्रबृत्तिहरु कसरी आफ्नो पुरुषत्व र बैशको उन्मादमा बाटोघाटो, धारा पंधेरा, मेलापात हुदि बाटो ढुकी यौन दुव्र्यवहार एबं र मध्यरातमा समेत घरको झ्यालबाट पसि महिला उपर कामुक दृष्टि एबं यौन दुराशयका साथ प्रस्तुत हुन रुचाउँछन् ? बलात्कार जस्तो जघन्य अपराधमा समेत संलग्न हुन्छन् ?
सुशीला( क्रान्ति )सुजु, उषा जस्ता पात्रहरु कसरी आंटी र हिम्म्ती बनी ती यौन पिपाशु , बलात्कारी र हिंस्रक उपर खनिन्छन, पिडकलाई कानुनी कारवाहिको कठघरामा  उभ्याउन समेत सफल हुन्छन्  ? र आफू सुरक्षित हुन्छन् ?
  त्यसैगरी क्रान्ति र उषाको संवाद मार्फत कसरी युगौ देखि पुरुष सत्ता र समाज ब्यबस्थाले धार्मिक संस्कार सामाजिक मूल्य मान्यता र नैतिकताको पाठ पढाइ आज पर्यन्त पनि आम महिलालाइ शोषण , दलन र उत्पिडन जारी राखेको छ ?
किन निमुखा, गरिब , पद दलित र बेसहारा आमा दिदिबहिनी र छोरीहरुलाइ मात्र कथित बोक्सी ,डाइनको रुपमा आरोपित गर्दै मल मुत्र खुवाइ सार्बजनिकरुपमा अपमान र अनादर गरिन्छ ? अनि त्यही आरोप किन हुनेखाने , धनी घरपरिवार र कथित उपल्लो जात बिशेषलाई ल्गाइंदैन ? किन यस आरोपबाट पुरुष डसिदैन र सताइदैन ? आज पर्यन्त पनि किन जातभात , उचनिच , छुवाछूतजन्य भेदभाव कायम छ ? त्यसबाट प्रताडित र उत्पीडितहरुले भोगेका अन्तर्कथा र त्यस प्रबृत्ति बिरुद्ध सचेत र जागरुक भूमिका निर्वाहको स्वर आवाजलाई उपन्यासमा यथोचित स्थान दिइएको छ ।
  स्वदेशमा रोजगारीको प्रयाप्त अवसर नहुदा बिबाह गरेको भोलिपल्टनै बिदेशीन बाध्य नव दुलाहा र दलहिको बिछोडको मनोदशा, अबिभावक र संरक्षक भनाउंदाहरुनै छोरी बुहारी माथी हेर्ने यौन पिपासु गिद्दे नजर र बलात्काररुपि निकृष्ट, घिनौना  र अमानवीय हर्कत, घटनाको तथ्य सत्य औल्याइ पीडितलाई न्याय दिन र पिडकलाइ कानुनी कारवाहीको बाटो पहिल्याउन सहयोगि बन्नु भन्दा पीडितलाइनै दोष थोपरी लान्छित र आरोपित गर्न मन गर्ने निन्दक समाजको  प्रबृत्ति बारे पनि उपन्यासमा बिबेचना गर्ने प्रयास गरिएको छ ।
त्यसैगरी उपन्यासमा एकल बृद्धअबश्थाका बिदुर ,बिधवा वा आमाहरूले भोग्नुपरेको निरस, एक्लो जिन्दगीको अन्तर्कथा, जागिर, उद्यम र विभिन्न पेशा, ब्यबसाय गरि पुगिसरी र सु सम्पन्न घर परिवार भित्र छोराछोरी, नाति नातिना भएर पनि आफ्नै सन्तानबाट, अर्घेलो, हेलाहोचो, उपेक्षित र अपहेलित हुँदै बृद्दाश्रममा पुग्न र बस्न बाध्य पारिएका वा आमाहरुको कारुणिक बेदना  र कुष्ट रोगले समाती समयमै औषधि उपचारको प्रबन्ध र मायालु वातावरण नपाइ घृणा र तिरस्कृत जीवन बांच्न अभिशप्तहरुको कथा पस्कदै र चिन्ता प्रकट गर्दै उपन्यासकर रबिनाले आजको समाज किन दिनानुदिन यति धेरै नितान्त स्वार्थी, अमानवीय , संबेदनहिन, निष्ठुर र रुखो मिजासको हुंदो छ हं ? भन्दै आजको समाजिक परिवेश र  यथार्थतालाई उजिल्याउने कोशिस गरेकि छिन् । हकिकतमा स्वार्थ उन्मुख समाजको मुखौटो उतारेकि छिन् ।
त्यसैगरी उपन्यासमा अभिव्यक्त पात्र रोशनी र राजेशको चरीत्र भूमिका मार्फत बैबाहिक दाम्पत्य युगल जोडीको सहबास पछि आमाको पेटमा गर्भ रहने या नरहनेमा दुबै जोडी विर्य उत्पादन, डिम्ब, गर्भाशय  तथा प्रजनन क्षमता प्रक्रियामा योग्य हुन शक्त जरुरी रहेको कथं कुनै एकमा कमजोरी र अयोग्य साबित भएमा गर्भ रहन नसक्ने र सन्तानोत्पती समेत नहुने स्पष्ट हुंदाहुदै, बिबाह गरेको लामो समयसम्म पनि बच्चा रहन नसकेकोमा पति पत्नी दुबैले संयुक्त रुपमा आबश्यक स्वास्थ्य परिक्षण समेत नगरी नगराई पत्नी ,छोरी बुहारीलाई मात्र एकतर्फी दोष थोपरि मानसिक हैरानी दिने हर्कतलाई चिर्न र आफू प्रजनन क्षमतामा योग्य भएको  साबित गर्न रोशनिले पर पुरुष राजेश संग सहबास गरि आफ्नो पेटमा गर्भ राखी बच्चा जन्माउन सफल भए पछि पुनः उसको चरीत्र माथी अनावश्यक प्रश्न र शंका गर्ने निन्दक समाज र घरपरिवारका सदस्य संग रोशनीले मातृत्व रक्षाको लागि अबिचलित भै लडेको दृष्टान्त पेश गरि उपन्यासकारले  नारी स्वाभिमानको जागृत र गर्बिलो झण्डालाई उचालेकि छिन् ।

त्यसैगरी उपन्यासमा आफ्ना बुवा आमा या मान्यजनको मृत्यु पश्चात् छोरा छोरी छन् भने छोराले मात्र दाग बत्ती दिने, किरिया गर्ने या दु:ख बार्ने र दाहसंस्कारस्थलमा सहभागी हुन महिलालाई निषेध गर्ने सामाजिक परिपाटी ,परम्परागत मृत्यु संस्कार र रुढ मान्यतालाई चिर्दै सुनिता जस्ता महिला पात्रले आफ्नो बुवाको मृत्यु पश्चात् खुदै  दाहसंस्कारस्थलमा सहभागी बनी दागबत्ती दिने र किरियाकर्म तथा दु:ख बार्ने यत्नमा जुटेकिछे ।आफ्नो कर्मलाइ लिएर आफन्तजन र इष्टमित्रबाट आएका बिरोध ,निन्दा र  बैचारिक आक्रमणलाई अबिचलित र धैर्यशिल बनी व्यबहार आचरण द्वारानै त्यसको जवाफ दिएकि छ ।
  यसरी उपन्यासकारले आफ्ना शब्द ब्यहोरा मार्फत सुनिता जस्तो जागरुक र बिद्रोहि स्वभावकि नारी पात्र खडा गरि  परम्परागत मान्यता अन्तर्गतको मृत्यु संस्कार भित्रको  सिमेण्टेड पर्खाललाइ थोरै भए पनि चर्काउन र भत्काउने सन्देश प्रवाह गरेकी छिन् ।
उपन्यासमा दार्जीलिङ कालिम्पोङ , सिलगढीका स्थानहरुको चियाबगानमा बस्ने श्रमिक र मालिक बिचको स्वार्थ सम्बन्धका आयामहरुलाइ पनि केलाउने  र  कोट्याउने कोशिस गरिएको छ।
त्यसैगरी उपन्यासमा छोरीलाई भन्दा छोरा जन्मनुलाई महत्व सम्झने,गर्भवती आमाको पेटमा छोरा या छोरी जाँच गरि यदि छोरी भएमा भ्रुण हत्या गर्न राजी हुने, छोरा जन्मिए हर्ष बढाइ र छोरी जन्मिए निधार खुम्च्याइ त्यसै अनुसार जन्माइ हुर्काइमा ख्याल खबर राख्ने अभिभावकहरुको रबैया अद्यापि रहेको तर कालान्तरमा त्यही छोरानै बेसोमत, दुर्जन र स्वांठ बन्दै आफ्नो जन्मदिने बुवा आमालाई अनादर र अपमान गर्दै घर निकाला गरेको र  अन्त्यमा पराइ घरमा गएका छोरीहरुलेनै आमा बुवालाई संरक्षण, आदर सम्मान र आड भरोसाका साथ राखेको
दृष्टान्त पेश गरिएको छ ।
  यसरी उपन्यासकारले अभिभावक र सन्तति बिचको सम्बन्ध, एकले अर्कालाई निर्वाह गर्ने दायित्व र कर्तव्यका भूमिकामा बिचलन ,गैर जिम्मेवार हर्कतका पाटाहरुले कसरी एउटा घर सुखी ,खुशी र ब्यबस्थित हुन सकिरहेको छैन भन्ने बारेमा प्रकाश पार्ने कोशिस गरेकी छिन् ।
उपन्यासमा अभिव्यक्त प्रमुख पात्रहरु क्रान्ति र उषाको चरीत्र भूमिका मार्फत उपन्यासकारले समलिङ्गीहरुको प्रेम, एकापसमा बिश्वास ,अपनत्व ,हार्दिकता र सहयोगिभावलाई नैतिक समर्थन , ऐक्यबद्धता र स्थापित गर्दै फेरि पनि उनीहरु बिचको सम्बन्धलाई लिएर  रुढ मानसिकताले घर गरेका घर परिवार देखि गाउँ समाजले हेर्ने नकारात्मक  दृष्टिकोण,अनावश्यक हस्तक्षेप, सोंच चिन्तन र लान्छनायुक्त पाद टिप्पणीका सन्दर्भको मनोबिज्ञानका पाटाहरुलाइ  समेत छिमल्ने र निफन्ने  प्रयत्न गरेकि छिन ।
त्यसैगरी उपन्यासमा अभिव्यक्त पात्र सुजुको आत्महत्या गर्न बिबश परिस्थितिबारे चिन्ता प्रकट गर्दै क्रान्तिको स्वर आवाज मार्फत लेखिकाले जीवन जिउने दौरानमा अनेकन बिघ्न, बाधा, र आपत बिपतका क्षणहरु झेल्नु परे पनि निराशा र हरेश नखाइ अन्यायी,निन्दक र  पिडक समाजले थोपरेको रुढ मान्यता उपर लाप्पा र धावा बोल्दै संघर्षशिल जीवन जिउनुपर्ने तर भूलेर पनि आत्महत्या जस्तो कायरता , नादानी र बेकुफिको बाटो रोज्न नहुने सचेतता र सन्देश प्रवाहमा पनि जोड  दिइएको छ ।
   त्यसैगरी उपन्यासमा उषा जस्ता नारी पात्रहरू परम्परागत मूल्य मान्यताको खिलाफमा जान अन्कनाइ रहेका छन् भने क्रान्ति ,सुनिता र रोशनी जस्ता पात्रहरुले रुढी र अन्धबिश्वास भित्र जकडिएर रहेका ढुसी र कस फाल्न व्यबहार आचरण द्वारानै पुष्टि हुनेगरी  सचेत बिद्रोहको गर्बिलो झन्डा उठाएका  छन् । अनि सुजु, जरिना र उषाहरुलाइ पुरुष ज्यादतीको सामुन्ने  दबिएर, हेपिएर, थिचिएर र कुण्ठित भएर होईन , आफू माथिका अन्याय ,शोषण र उत्पिडन बिरुद्ध  अबेर नगरि बोल्न, डटि लड्न झक्झ्क्याएका छन् ।अँध्यारो , बिरक्तभाव, निराशा र भाग्यबादको झमेलामा नफसि उज्यालो , आशावादी र सुनौलो बिहानीको पर्खाइमा उर्जाका साथ डटि हिंड्न सुझाएका छन् । सकारात्मक संदेश प्रबाहमा कटिबद्ध रुपमा खटिएका छन् ।
जम्मामा  नारीको भोगाइ र जीवन संघर्षलाइ केन्द्र बिन्दुमा राखी तयार पारिएको उपन्यास ” पतिवर्तित अनुहार ” पठनिय र सङ्ग्रहनिय रहेको छ । यस उपन्यासले नारी जागरण र मुक्ति आन्दोलनमा सहयोगि र सचेतन भूमिका खेल्नेमा कुनै शंका छैन ।  धन्यवाद
  राम बहादुर जि .सी.
   दाङ तुल्सिपुर

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्