थारु डश्या: परम्परा, पूजा र पहिचान



दिप्तीशिखा चौधरी

नेपालीको महान चाँड दशैँ सबैको घरघरमा भित्रीसकेको छ । सबै जातजातीले यो पर्वलाई १५ दिन सम्म धुमधामका साथ मनाउने गर्दछन् । यस लामो चाडलाई थारु जातीले भने “डश्या ” भनी आफनै परम्परा अनुशार मनाउने गर्दछन् । डश्या अर्थात बडा दशैँ आगमन हुनु पुर्व थारु महिलाहरु घर लीपपोत गरी सफा सुग्घर पारेका हुन्छन् । थारुहरुको डश्या मकँै र जौँ को जमरा राखेकै दिन देखी आरम्भ हुन्छ ।

तर वास्तविक डश्या भने ढिक्रह्वा अर्थात अष्टमी तिथी देखी सुरु हुन्छ । पञ्चमी वा षष्ठीका दिनदेखि प्रत्यक घरका घरमूलीहरु एक करै मद्म (गुँड) ,एक झुप्पा मकै , एउटा गुन्द्री लिएर आफनो घरगु¥वाको घर बानधुप लिन जान्छन् र आफनो गृहदेवस्थलमा टाँगिएको झोलामा जतनसाथ राख्छन् । त्यसपछि घरका देवीदेवताहरुलाई चढाउन यहि अक्षताको प्रयोग गरीन्छ ।

थारु समूदायमा प्रत्यक बर्ष गृहदेवस्थलमा स्थापित घोडा जस्तै देवतालाई पुनःस्थापित गर्नुपर्छ । जसका लागि घरमूलीहरु कुमाल समूदायले बनाएको माटो बाट निर्मीत देवता (भुट्वा) किनेर ल्याउने गर्दछन् । दशैँ आउनै लाग्दा कुमालेहरु थारु गाँउमा छिट्वाभरी माटाका भाडाहरु लीएर बेँच्न गएको पनि देख्न सकिन्छ । तुलसिपुर ७ कुमाल गाउँका तिखे कुमालका अनुशार सबै भन्दा बढि माटोका भाडा बिक्री हुने महिना नै यहि भदौँ असोज महिना हो ।

सप्तमीको दिन देवीदेवताहरुलाई चढाउने ढिक्री वाष्पीकरण गर्न पैनसटोपी (मूँज बाट बनेको हस्त निर्मीत बस्तु) नजिकैको खोलामा गई धुन्छन् । अष्टमकिो तिथीलाई थारुहरु ढिक्रह्वाको दिन भन्दछन् । यो दिन देवीदेवताहका लागि सात प्रकारको ढिक्री बनाउनु पर्दछ । गुले¥वा ढिक्री (बिचमा फुकेको गोलो आकारको ),लठ्ठी ढिक्री,ब्वाझा ढिक्री (पाँच वटा लठ्ठी आकारको ढिक्रीलाई दुई ठाउँमा डोरीले बाधेको जस्तो आकार ) जस्ता सात प्रकारका ढिक्री दशैँमा बनाउने गरीन्छ ।

रात परेपछि घरमूली नुहाएर गृहदेवस्थलका सबै देवीदेवताहरु मैयाँ ,खेख्री,लागुवास,गुर्वावा,घोडाका रुपमा रहेको देवताहरुलाई नुहाईदिन्छन् । पुरानो चढाएको माटाको घोडालाई नयाँ पार्न घोडाको ठाउँमा नयाँ घोडा राखिन्छ । देविदेवताहरु पाटामा (देवता राख्ने ठाउँ ) स्थापित हुन्छन् । घरमूलीले नयाँ बह्रानी (फुलपाती ) र बेलको सानो हाँगा ल्याएर आफनो घरको उत्तर तर्फको कुनामा राख्दछन् । डिउह्रार (देवस्थल ) मा शास्त्रीय ताल अनुशार झ्वा झुईएक, झ्वा झुईएक , झ्वा झुईएक , झ्वा झुईएक ऽऽऽ मादल बज्न थाल्छ । घरमूलीले पातमा सबै प्रकारका ढिक्री राख्दै माथी बाट पातले ढाक्दै सबै पाटाका देवातालाई चढाउँछन् । साथसाथै बेब्री ( थारु जातीले देवीदेवतालाई चढाउने एक प्रकारको फुल ) चढाउँछन् । मद्म (रक्सी ) वानधुप चढाउँछन् ।

थारु लोक बिश्वास अनुशार आजको रात पितृहरु प्रशाद खान आत्माको रुप लीएर आउँछन् । आजको रात थारु नर्तक नर्तकीहरु अहोरात्र सख्या पैँया नाच्दछन् । यो नाचँलाई सामान्य नृत्यका रुपमा हेरीनु हुदैन भन्छन् थारु सस्ंकृतीबिद्ध अशोक थारु । देवीदेवताहरुको नाम लिदै गाईने भएकाले देवीदेवताको नाम सिकाईदिन देशबन्ढ्या गु¥वा नृत्यस्थलमा रहन्छन् । यो सख्या पैँया गाउँको मटाँवाको घरको आगँनमा नाच्दछन् ।

बास्तवमा संख्या र पैँया नृत्यको उद्भवको बारेमा पौराणिक आख्यान छ । भारतको अयोध्या अर्थात वज्र प्रदेश बाट उदय भएको सख्या र पैँया नै लोपान्मूख हुन् तर नेपालका डङ्गौरा थारुहरुमा प्रचलनमा रहनु अनुसन्ध्यय छ भन्छन् थारु लोक सस्ंकृतीबिद थारु ।

नवमीको ब्रह्ममुहुर्तमा दिन घरमूलीले कोह्राको (कुभिण्डो ) भेंडा बनाउँछन् । काठको छेस्कोले सिंह ,मूख , चार वटा खुट्टा बनाउँछन् । थारु लोक सस्ंकृती अनुशार मानव बलीको रुप कुभिण्डो बलीमा आएको हो यसलाई सकारात्मक रुपमा लीने गरीएको थारु अगुवा चन्द्र प्रशाद चौधरी बताउँनु हुन्छ । बली दिईसकेपछि त्यसलाई मूलद्धारको सिधैँ माथी छानामा फालिन्छ ।

नवमी तिथी को बिहान घरकी कन्याले बायाँ हातमा कलश लिएर कलशको पानी चुहाउदै देवता राखेको ठाउँमा जान्छिन् । देवताको अगाडि नँया बह्रानी (फलपाती ) राख्छिन् । मध (रक्सी ) चढाईन्छ । पूनः घरमूली नुहाएर घर बाहिरका देवताहरुलाई भालेको भोग दिई सबै देवताहरुलाई जमरा बेब्री चढाईन्छ । पितृहरुलाई श्राद्ध दिईन्छ । जसलाई थारुहरु “पिट्टर डेना ” भन्दछन् ।

श्राद्धमा चढाईएको भात तरकारी छोरा नातीले मात्र खान हुने थारु गुरुवाहरु बताउँछन् । श्राद्धमा माछा,सिल्टुङ्ग र पवैँको साग चिचिण्डो आदि बेजोडा तरकारी हुन्छ ।

नवमीको दिनलाई गवल्या टिकाको दिन पनि भन्ने गरीन्छ । जुन दिन घरघर बाट गरढु¥याहरु करैमा (रक्सी राख्न प्रयोग गरीने माटाको भाँडा) रक्सी , जमरा बेब्री लीएर मटाँवाको घरमा जम्मा हुन्छन् । सबै जना जम्मा भएर मटाँवा लाई बेब्रीको माला , जमरा लगाईदिन्छन् । सोहि अबसरमा “ डौँ फट्रौं नक घुम, डौँ फट्रौं नक घुम,”ऽऽऽ को तालमा मादलेहरु मादल बजाउँछन् भने कोहि थारु महाभारत ( वर्कीमार ) गाउँदै ग्रामीणदेवस्थल ( ठन्ह्वा )   जान्छन् ।

वर्कीमारको केहि अंश –
बेबुरी बिना एक हम का चढावै,विना बुद्धी टुम्हारे पाउ
ढनपटी सरसोटी टोर हिरड वैस री डेहो
भगमोटी शरन लेहनुँ टोर नाम,डबी ढरम डबी बन्डन बा

अर्थात–वेवुरी फुल नचढाएर म अल्पवुद्धिवालाले तिमीलाई चढाउँ धनकी र विद्माकी देवी ? जे होस् तिमी मेरो हृदयमा बास गरीदेउ । हे भगवती ! म तिम्रो शरणमा रहन पाउँ । म तिम्रो धर्मको ,नामको बन्धनमा बाधिँन चाहन्छु ।

दशैँ सदभाव , भाईचारा र खानपिनको पर्व भएकाले जमरा र वेव्री आदानप्रदान पछि मटावाँको घरमा गई , माछा, माशु, ढिक्री, जाँड खान दिएर मटाँँवाकी पत्नीले स्वागत गर्छिन् ।

आज को दिन नवविवाहित दुलाहाहरु गुन्द्रि, कुखुरा,रक्सी लीएर आफनो ससुराली टिका थाप्न जान्छन जसलाई थारुहरु “जिउरा लगाए जैना” भन्छन् ।

दशमी तिथी ,थारुहरु यो दिन लाई राजाको टिका को दिन भन्दछन् । आज थारु समूदाय भित्र रहेका प्रतिष्ठित ब्यक्ति , डेशबन्ढया (गाउँको मटावाँ मूख्य मान्छे ),घरगु¥वा (घरको धार्मीक कार्य गरिदिने ब्यक्ति ) कँहा टिका लगाएर आफन्त कहाँ टिका थाप्न जाने दिन हो ।
थारु समुदायमा सेतो टिका लगाउँने प्रचलन छ ।

दशमी डश्याको अन्तिम दिन भएकाले अन्य बिधीबिधानको समापन भएपनि संख्या पैँया नृत्य चलिरहन्छ । थारु समुदायको सख्या–पैंया नाच कुनै समय यस्तो सांस्कृतिक सम्पदा थियो, जसले डश्या पर्वमा एक महिनासम्म गाउँ–गाउँ उज्यालो बनाउँथ्यो। अहिले भने यो नाच कतिपय गाउँबाट पूरै हराइसकेको छ, र कहीं–कहीं एक हप्ता मात्र नाचिने अवस्था आएको छ।

एक समयमा महिना दिनसम्म निर्बाध नाचिने सख्या–पैंया नाच, आज कतिपय गाउँबाट पूर्णतः लोप भइसकेको छ। केही गाउँमा अझै पनि एक हप्ता मात्र सीमित रूपमा नाचिने यो परम्परा अब लोपोन्मुख सांस्कृतिक सम्पदा बन्न पुगेको छ । यो अवस्था थारु सांस्कृतिक चेतनाको ह्रास, आधुनिक प्रभावको असर र मौलिक संस्कृतिप्रति बढ्दो उपेक्षाको परिणाम हो । सख्या नाचको हराउँदै जानु, केवल एक नाचको अन्त्य होइन – यो थारु समुदायको सामूहिक सांस्कृतिक स्मृतिको मेटिँदै गएको कथा हो।

थारु समुदायको सख्या–पैंया नाच अहिले सङ्कटको सिमामा पुगेको सांस्कृतिक सम्पदा हो। यसलाई बचाउन अब सिर्जनात्मक संरक्षण, युवामा चेतना, र समुदायकै अग्रसरता अनिवार्य छ। यदि समयमै कदम चालिएन भने, केही वर्षमा यो परम्परा इतिहासका पानामा मात्र सीमित हुनेछ।

यसरी हरेक पर्व थारुको आफनै लोक परम्परा र लोक सस्ंकृती अनुशार महत्वपूर्ण रुपमा मनाईने गरेपनि पछिल्लो समयमा पश्चिमा सस्ंकृतीले जरा गाड्दै गएको देखीन्छ भन्छन् थारु अगुवाहरु ।

[email protected]

 

 

प्रकाशित मिति : २०८२ असोज १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्