परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँदिल्लीमा भएको उच्चस्तरीय द्विपक्षीय वार्ताले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको छ। वार्तापछि सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालन, भूकम्पपछिका ८४ पुनर्निर्माण परियोजना हस्तान्तरण तथा कृत्रिम बुद्धिमत्ता (एआई) र भाषा रूपान्तरण प्रविधिमा सहकार्यसम्बन्धी तीन महत्वपूर्ण संयुक्त घोषणा सार्वजनिक गरिएको छ।

नेपाली राजदूतावास, नयाँदिल्लीका अनुसार वार्तामा व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको थियो। दुवै पक्षले नेपाल–भारत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्दै दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटका क्रममा खेलकुदमार्फत जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयसमेत उठाइएको थियो। साथै, दुई देशबीच सञ्चालनमा रहेका विभिन्न द्विपक्षीय परियोजना तथा सहकार्य कार्यक्रमहरूको प्रगतिबारे समीक्षा गर्दै कार्यान्वयनलाई थप तीव्रता दिने उपायबारे छलफल भएको जनाइएको छ।
वार्तापछि दुवै पक्षले विकास साझेदारी, पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार तथा आपसी हितका क्षेत्रमा सहकार्यलाई अझ गहिरो र फराकिलो बनाउने सहमति गरेका छन्।
यी हुन् तीन संयुक्त घोषणा
१. सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालन
नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याइने भएको छ। यसले दुई देशबीचको डिजिटल कारोबारलाई थप सहज, छिटो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
२. ८४ पुनर्निर्माण परियोजना नेपाललाई हस्तान्तरण
भारतको सहयोगमा निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य र १२ सांस्कृतिक गरी कुल ८४ पुनर्निर्माण परियोजना नेपाललाई हस्तान्तरण गरिने भएको छ। यी परियोजना भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत निर्माण गरिएका हुन्।
३. एआई र भाषा प्रविधिमा सहकार्य
काठमाडौं विश्वविद्यालय र भारतको डिजिटल इन्डिया भाषिणी डिभिजनबीच समझदारीपत्र आदानप्रदान भएको छ। यस सहकार्यले नेपालीसहित विभिन्न भाषामा एआईमा आधारित अनुवाद प्रणाली विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
परराष्ट्रमन्त्री खनाल शुक्रबार भारत भ्रमणमा गएका थिए। उहाँ आइतबार काठमाडौं फर्किने कार्यक्रम रहेको नेपाली राजदूतावासले जनाएको छ।

