लिस्वन (पोर्चुगल),
दशैं मनाउन नेपाल फर्कन लागेका नेपालीसहित १२ जना आप्रवासीको आवास अनुमतिपत्र पोर्चुगल सरकारले लिस्वन एयरपोर्टमै खारेज गरेको छ।
बुधवार दिउँसो भएको घटनापछि पोर्चुगलमा रहेका सयौं नेपाली आप्रवासी अन्यौलमा परेका छन्। सुरुवातीमा धेरैले यसलाई ‘फेक न्युज’ भन्दै पन्छाए पनि गैरआवासीय नेपाली संघ (एनआरएन–एनसीसी) पोर्चुगलले घटनाको पुष्टि गरेको हो।
अध्यागमन अधिकारीहरुले ती आप्रवासीलाई सेङ्गेन क्षेत्रका देशको भिसा विना पोर्चुगल प्रवेश गरेर अवैध तरिकाले आवास अनुमतिपत्र बनाएको आरोप लगाएका छन्। त्यस्तै एक नेपाली, जसले सन् २०२२ मा युकेबाट पोर्चुगल प्रवेश गरी आवास अनुमति लिएका थिए, नेपाल फर्कने क्रममा एयरपोर्टमै रोकिनु परेको उदाहरणसमेत सार्वजनिक भएको छ।
डेढ वर्षअघिसम्म जुनसुकै देशबाट जसरी आए पनि आवश्यक कागजी प्रक्रिया र कर तिरेपछि अस्थायी आवास अनुमतिपत्र लिन सकिने कानूनी व्यवस्था थियो। धेरै आप्रवासीहरुले सो प्रक्रियाबाट आवास अनुमति लिएका भए पनि अहिले त्यही अनुमतिपत्रलाई नै अवैध ठहर गर्दै खारेज गर्न थालिएको हो।
यस घटनापछि दशैंका लागि नेपाल फर्कन तयारीमा रहेका आप्रवासीमध्ये नेपाली समुदायमा त्रास र अनिश्चितता बढेको छ।


