थारुहरुको अष्टिम्की अर्थात कृष्ण जन्माष्टमी

पछिल्लो समय पोस्टरको प्रचलन बढ्दै


✍️ दिप्तीशिखा चौधरी

परम्पराअनुसार भाद्र महिनाको कृष्ण पक्ष अष्टमी तिथिमा भगवान श्रीकृष्णको जन्म भएको दिनलाई डङ्गौरा थारुहरूले अष्टिम्की अर्थात कृष्ण जन्माष्टमी भन्दछन् । तर चन्द्रमाको गति अनुसार यो पर्व हरेक वर्ष फरक–फरक ग्रेगोरियन महिनामा पर्न सक्छ । यही कारण यस वर्ष अष्टिम्की साउन महिनामै परेको छ । यस पर्वलाई महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन् । कृष्ण (कान्हा) लाई टिका लाएर मनाइने भएकाले यसलाई थारु भाषामा अष्टिम्की भनिएको हो ।

अष्टिम्कीको दिन गाउँको मटावाको घरमा बैठक कोठा (बह्री) मा स्थापित अन्न राख्ने भाँडो अर्थात डेहरीलाई ढुङ्गाले पिधेर चामलको झोलले पोतिन्छ । त्यसैमा थारु लोकचित्रकारहरूले परम्परागत चित्र कोर्छन् । दाङ कचिला गाउँका थारु लोकचित्रकार डम्बर चौधरीका अनुसार चित्र बनाउने रङ सम्भव भएसम्म प्राकृतिक वस्तुबाटै तयार पारिन्थ्यो । जस्तै:

  • सुकेको लौका आगोमा पोल्दा बनेको कोइला → कालो रङ

  • सीमीको पात पिसेर → हरियो रङ

  • गेरुबाट → रातो रङ
    चित्र कोर्न प्रयोग हुने कूची पनि बाँसलाई पेन्सिल आकारमा काटेर तयार पारिन्छ। यो परापुर्वकालका थारुहरुको प्रचलन हो तर पछिल्लो समय बजारमा बिभीन्न थरीका रंगहरु पाईन्छ ।

डेहरीको माथिल्लो भागमा माटोले चार वटा टाउका बनाईन्छ जसलाई थारुहरूले “बरमुन्हा” भन्छन्, जुन रावणको प्रतीक हो । थारु संस्कृतिमा रावणलाई रामको तुलनामा बढी महत्त्व दिइएको पाइन्छ । डेहरीको चारैतिर त्रिभुज आकारका बुट्टा भरिन्छन् र यसै भित्र दायाँपट्टि सूर्य (सुरज) र बायाँपट्टि चन्द्रमा कोरिन्छन् । थारु लोकसंस्कृतिविद् अशोक थारुका अनुसार थारु लोककाव्यमा सुरजभरारलाई धेरै स्मरण गर्ने भएकाले थारु संस्कृतिमा सूर्यको विशेष महिमा देखिन्छ ।

सुरजभरार मुनी लंहगा धारण गरेकी पाँचवटा द्रौपदी चित्रित गरिन्छन्, जसले पाँच पाण्डवसँगको सम्बन्ध र तिनप्रति मनोविज्ञानलाई प्रकट गर्छ । त्यसै मुनी पाँच पाण्डव चित्रित हुन्छन् । कसैले छाता ओढेका हुन्छन्, कसैले मादल बजाइरहेका हुन्छन् । पाण्डवबीचमा डोलीको चित्र हुन्छ—यही डोलीमा द्रौपदीलाई भित्र्याइएको कथा छ । चित्रको सबैभन्दा तल थारु महिलाले वासुकी नाग बनाउँछन्, चित्रकारले त्यसै माथि जल–जीवहरू (गोही, गंगटा, माछा, कछुवा) को चित्र हाल्छन् । बीचमा कदम्बको बोट देखाइन्छ—कान्हाको प्रिय रुख मानिन्छ । यसरी चित्रणले सृष्टिको उत्पत्ति र विकासक्रमको कथा सुनाउँछ ।

चित्रकार यसरी व्यस्त रहँदा थारु गोपीनी (महिला) बिहानैदेखि पूजनको तयारीमा लाग्छन् । माटाका पाला, गरगहना पिनाले (खरी)
माझेर टल्काउँछन्, घर आँगन लिपपोत गर्छन् । कान्हालाई चढाउन घुन्यासर फूल, काक्रो, अमिलो, मेवा जस्ता प्रिय वस्तु संकलन गर्छन् । साँझ पर्दै जाँदा गोपीनीहरू श्रृंगार पटारमा जुट्छन् ।

अन्धकारमय रातमा जुनकीरीको झिलिमिली र ताराको चमकले वातावरण मोहित हुन्छ । श्रृंगार गरेकी थारु युवतीहरू हातमा थाल—चामल, घुन्यासर फूल, मेवा, कागती अमिलो, धपधप बलेको बत्ती लिएर लामबद्ध भएर मटावाको घर तिर जान्छन् । त्यो दृश्य साँच्चै मनमोहक हुन्छ ।

पूजन स्थलमा ओछ्याइएको गुन्द्रिमा ब्रतालुहरूले आफ्ना सामग्री राख्छन् । मटावाकी पत्नीले अष्टिम्की चित्रमा सिन्दूरको टिका लगाइदिन्छिन् र जलले आचमन गर्छिन् । त्यसपछि सबै ब्रतालुहरूले पूजन गर्छन् । आधी रातमा उनीहरू फेरि फर्केर गीत गाउँछन्—

सीरीजीट गईलरी जलथर ढरटि

सीरीजीट गईलरी कईला कुश डाव

यो गीत अहोरात्र गाइन्छ । ब्रतालुहरूको विश्वास छ—“बत्ती निभे इच्छापूर्ति हुँदैन” त्यसैले उनीहरू निरन्तर तेल थप्दै बत्ती बालिरहन्छन् ।

अष्टिम्कीको दोस्रो बिहान पुनः श्रृंगार गरेर ब्रतालुहरू टपरीमा फलफूल र बत्ती राखी गीत गाउँदै पूजन स्थल जान्छन् । त्यसपछि नजीकैको नदीमा प्रशादसहित टपरी सेलाउँछन् । विश्वास अनुसार बलेको टपरी गोकुलको जमुनासम्म पुग्छ र त्यहाँ कान्हाले त्यो प्रशाद खान्छन् ।

ब्रतालुहरूले स्नान गरी घर फर्किन्छन् । घरमा विशेष परिकार—गेडा मिसाइएको परवरको साग, पाप्रो (गब्डा), चिचिण्डो, भात र घिउ पकाइन्छ । यसमा दिदीबहिनीका लागि अग्रासन छुट्याइन्छ र टपरीमा राखी पठाइन्छ, जसलाई भातृप्रेमको प्रतीक मानिन्छ ।

यसरी अष्टिम्की पर्व सम्पन्न हुन्छ । डङ्गौरा थारुहरूले परापूर्वकालदेखि भागवत पुराणमा आधारित यो पर्व मनाउँदै आएका छन् । तर पछिल्लो समयमा बजारमा पाइने पोष्टकार्डमा टिका लगाउने चलन बढ्दै गएको  भन्दै विभीन्न लेखहरु प्रकाशित भएपछि केहि समय यता देखि युवा पुस्तालाई तालीम मार्फत अष्टिम्की चित्रकला तालीम दिदै आएको देखिन्छ । यसले गर्दा केहि लोकचित्रकला जगेर्ना गर्न सकिन्छ कि भन्ने विश्वास बढेको देखिन्छ । यसले गर्दा नयाँ पुस्तामा थारु लोकचित्रकलाप्रति चासो बढ्दै जाने विश्वास लिईएको थारु लोकसंस्कृतविदहरु बताउछन् ।

प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्