
राम बहादुर जि. सि.
वामपन्थी कम्युनिस्ट आन्दोलनमा एकताको गित पनि गाइरहने अनि फुट र बिभाजनको भंगाला पनि गैरहने प्रबृत्ति किन हावि छ ?
आउनुहोस् यसबारे केही चर्चा गरौ –
खासगरी वामपन्थी कम्युनिस्ट आन्दोलनमा ,हिजो एकै उद्देश्य,एकै गन्तव्य, एकै मनपेट साटफेर गरेका मनहरु आज एक अर्कालाई ज्यानी दुश्मन ठान्दै,धोखेबाज र गद्दार घोषणा गरि चाहे पार्टी एकताको नाममा होस् वा अलग पार्टी घोषणाको नाममा एताबाट उता तिर हाम फालेर जाने अनि त्यहाँ भित्र पनि पुनः फुट र बिभाजनको बीउ रोप्दै जाने शृङ्खलाबद्द घटना किन घटिरहन्छ ?
दोहोरिन्छ ?
नेताहरूका आफ्ना स्वार्थको चक्रब्युह भित्र फसाइ किन कम्युनिस्ट आदर्श र सपना माथी झेली खेल खेलिन्छ ?
त्यत्तिकै आम नागरिक स्तरमा असन्तुष्टि जाहेर भएको हो र भन्या ?
हिजो फेरि नेकपा बिप्लबबाट बाग्लुङ्गे कमरेड चिरन पुनको नेतृत्वमा एउटा हांगा अलग भएछ र माओवादी केन्द्रमा मिसिने सुर कसेछ,उता एकीकृत समाजबादिमामा झलनाथ खनाल,रामकुमारी झांक्री लगाएतको समुहले त्यहाँ भित्र असन्तुष्ट जाहेर गरेको खबर छ । आलोचनात्मक चेतको हवला दिदै एमाले , माओवादी केन्द्र जस्ता पार्टीमा पनि उषा तिमिल्सिना र जनार्दन शर्माहरु जस्ता नेताहरु पनि गनगन गरेको सूनिन्छ ।
भर्खरै मैले डा.ढाकाराम चापागाईं द्वारा लिखित नेकपा एमाले र माओवादी केन्द्र एकता देखि बिभाजन सम्म, नेत्र पन्थीको लेफ्ट राइट सत्ता र शक्तिको अराजनीति र डा.विन्दा पाण्डेको भूइंमान्छे नामक पुस्तकहरु सबिस्तार अध्ययन गरि सिध्याएं ।
ती तीन वटै पुस्तकको शारांस थियो – मुख्यतः बामपंथी कम्युनिस्ट आन्दोलनमा कसरी एउटै उद्देश्य ,लक्ष्य र गन्तव्य किटान साथ अगाडि बढेका दलहरू र त्यस आन्दोलनमा अनवरत आफ्नो जबानी,उर्जा र समय खर्चेका नेतृत्वहरु किन एकापसमा मिल्न र एकैसाथ रहन सकेनन् र सक्दैनन् ? किन छुट्टाछुट्टै भंगाला र टुकडी बनाइ आ- आफ्ना ड्म्फु बजाइ शास्त्रीय शुद्धताको आलापमा रमाइ रहेका छन् ? छिन्नभिन्न ,टुटफुटको क्रमबद्ध श्रृङ्गखला उत्पन्न हुनाको कारण के हो ? किन आधारभूत तह अथार्त भूइंमान्छेहरुबाट अलगथलग भै संभ्रान्त र हुनेखाने बर्ग संग बढ्ता उठबस गर्न त्यो समहु ज्यास्ती मन गर्दो छ ?
आज किन कम्युनिस्ट आन्दोलनमा दिनानुदिन सिद्धान्तहिन,मूल्यहिन,निष्ठाहिन ,बिचारहिन,आदर्शहिन,नीति थिती र बिधिहिन राजनीतिको बोलवाला पकड हुंदो छ ? हिजो अध्ययन ,चिन्तनमनन,खोज अनुसन्धानमा,मुद्दा र बिषयमा जोड दिने कमरेडहरु आज किन अध्ययन चिन्तन,मुद्दा र विषयका सवाल उठाउनेहरुलाइ अनादर र खिसिटिउरी गर्दै चोक चौतारिमा आफ्नै बिरुद्ध खुइल्याउंदै अन्टसन्ट बक्न मन पराउंछन ?
हिजो पार्टी कामकारबाहीको सिलसिलामा गल्ती कमजोरी भएमा आत्मालोचना गर्ने ,सच्चिने र सच्याउने प्रतिबद्धता हुने गर्ने ,फरक मतलाइ सम्मान र आदर गर्दै त्यस उपर घनिभुत छलफल हुने परिपाटी आज किन क्रमशः भुत्ते हुंदैछ ? उल्टो फरक मतका स्वर आवाज उपर टेढो नजर लगाउंदै मुख बन्द गराउने ,कारवाहिको डन्डा बर्षाउंदै लखेट्ने र दपेट्ने प्रक्रिया अगाडि बढ्दो ? हिजो फरक मतका आवाज भएमा आन्तरिक कमिटी भित्र मात्र राखिने पद्धति रहेकोमा आज किन कमिटीमा नराखी पहिल्यै बजारमा बिक्रि गरिन्छ ?
हिजो पार्टीका निति निर्णय र नेतृत्व विरुद्ध कसैले छिसिक्क अनावश्यक बोल्दा र भ्रम फैल्याउंदा त्यसको डटेर सैद्धान्तिक बैचारिक प्रतिबाद गरि भ्रम निवारणमा खट्ने मनहरु आज उल्टो नेतृत्वलाई खुइल्याउंदा आनन्द मान्ने र पार्टीका आन्तरिक गोप्य कुरा बाहिर फेर दिन हतार गर्ने अराजक र अनुशासनहिन प्रबृत्ति किन बढ्दो र झ्याङ्गिदो छ ? हिजो आटोपिठो रुखोसुखो खाइ आम नागरिकको घर आंगन र झुप्राहरुमा पुगि सुखदुःखमा समाबेश हुने,उनीहरु संग घुलमिल हुने ज्यान र मनहरु आज किन गाउँमा बस्न मन नगर्दै शहरका महंगो होटेल र रेष्टुरेन्टहरुमा भुजा, ज्युनार खान मन गर्छ ?
हिजो आम जनताले बोल्ने तपाईं ,तिमी हामी जस्ता शब्द सम्बोधनमा आज किन आफूलाईमात्र केन्द्रमा राखी म , मैले गरेको भन्दै अनि संभ्रान्त बर्गले बोल्ने खाइस्योस, गइस्योस जस्ता शब्द भाषा प्रयोग गर्न लालायित छ ? हिजो सादा जीवन उच्च बिचार,नैतिक आचरणले युक्त हुंदा गौरब बोध गर्ने ज्यान र मनहरु आज किन मोजमस्ती,ऐयासी जिबन, अनावश्यक तडकभड्क जतिसक्दो र जसरी हुन्छ पैसा कमाउ धन्धामा लिप्त हुंदो छ ? यसबारेमा यी पुस्तकहरुको पेटबोलिमा गहिरो बिश्लेषण र बिबेचना गरिएको छ ।
अहिले पनि वामपन्थी आन्दोलन र कम्युनिस्टहरु प्रति आम नागरिकको भरोसा छ ,जनमत छ । उनीहरुले त्यही बिश्वासका आधारमा पटकपटक वामपन्थी खेमा र कम्युनिस्टहरुलाइ सत्तामा पनि पुर्याए तर कम्युनिस्ट आदर्श र सपनालाइ ब्य्बहारत साकार रुप दिनुपर्ने ,आम नागरिकको दैनिकी सुधारमा ध्यान खबर राख्नुपर्ने र उनीहरुको भरोसा टुट्न नदिन सोही अनुसार काम कामकारबाहीमा अनिवार्य जुट्नुपर्नेमा पार्टीको मूख्य नेतृत्व जहिल्यै अनावश्यक ब्यक्तित्व टकराव,एकले अर्काको अस्तित्व नस्विकार्ने प्रबृत्तिमा फस्दा कम्युनिस्ट आन्दोलनको कडि क्रमशः टुटफुट र छिन्नभिन्न हुंदा कम्युनिस्ट समर्थक , शुभेच्छुकहरुको मन कम्ता कुंडिएको र दुखेको छैन ? आफूलाई वामपन्थी रुझान र कम्युनिस्ट आदर्शको हिमायती भन्ने ठान्ने नेतृत्वले कहिले बुझ्ने, कहिले समिक्षामा जुट्ने र बोध गर्ने ?
फेरि पनि भन्छु – कहिले सुध्रिने ? कहिले सच्चिने?
हिन्दीमा एउटा उखान छ – हम कभी नहि सुध्रिङ्गे तो तुम कैसे सुधारो गे ? आम नागरिकको असन्तुष्टि त्यत्तिकै भएको हो र भन्या ?

