
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ।
घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रियासनले शिक्षा समाजको सिङ्गो रूप भएकाले हरेक क्षेत्रलाई समय सापेक्ष ढङ्गबाट अगाडि बढाउने जनशक्ति उत्पादन गर्न शिक्षा क्षेत्रले अगुवाई गर्नुपर्ने धारणा राख्नुभयो ।
मुलुक बनाउने महान योजना बनाएर अगाडि बढ्नुभएका जननेता मदन भण्डारीले बनाउन खोजेको नेपाल अझै बनि नसकेको चर्चा गर्दै प्रियासनले नेता भण्डारीले जस्तै अहिलेका सबै नेताहरुले दूरदर्शी भएर सोच्ने हो भने देश बन्न समय नलाग्ने ठोकुवा गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल बिमल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक सरिता सुवेदी विद्यालयका सहायक प्रिन्सिपल तारा चौधरीलगायतकाले बोल्नुभएको थियो । सो अवसरमा विद्यालयका विद्यार्थीहरू बीच मैत्रीपूर्ण भलिबल र शिक्षकहरू बीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता भएको थियो। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि प्रियासनले गर्नुभएको थियो।

