राष्ट्रिय मिडिया महोत्सवको तयारी पुरा



नेपाल पत्रकार महासंघ दाङ शाखाले यही वैशाख ३ र ४ गते घोराहीमा आयोजना गरेको राष्ट्रिय मिडिया महोत्सवको तयारी पुरा भएको छ । दाङमा पहिलोपटक हुन लागेको मिडिया महोत्सवको तयारी पुरा भएको नेपाल पत्रकार महासंघ दाङ शाखाले जानकारी दिएको छ ।
मिडिया सम्बन्धी सम्पूर्ण सरोकारवाला निकाय, राष्ट्रिय स्तरका वरिष्ठ पत्रकारहरु, मिडिया बिज्ञ र जनप्रतिनिधिहरुको उपस्थितिमा हुने मिडिया महोत्सवका लागि प्रचारप्रसार, बहसका लागि आवश्यक वक्ताहरुसँगको समन्वय लगायतका काम सम्पन्न भएको  नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिनुभयो ।

महोत्सवको वैशाख ३ गते विहान १०ः३० बजे होटेल माला इन घोराहीमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम छ । सो दिन पत्रकार महासंघको साधारण सभा एवं अधिबेशनसँगै संघियता, विकास र मिडिया विषयक बहस कार्यक्रम हुनेछ । जसमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र मिडिया बिज्ञहरु वक्ताको रुपमा रहनुहुने छ ।

दोस्रो दिन वैशाख ४ गते मिडियाको सामथ्र्य र भविष्य, नैतिकताको कसीमा मिडिया, मिडियामा समावेशी सवाल, हिजोका मिडिया र आजका मिडिया, कानुन निर्माण र मिडिया साक्षरता लगायतका विषयमा छुट्टाछुट्टै बहस हुने नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतलले जानकारी दिनुभयो ।

 

बहसका लागि वक्ताको रुपमा सहभागी हुन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान, अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी लगायत राष्ट्रिय स्तरका ख्याति प्राप्त पत्रकारहरु दाङ आउनुहुने छ ।

दाङमा पहिलोपटक हुन लागेको यस मिडिया महोत्सवलाई जिल्लाबासीहरुले अवसरको रुपमा लिन महासंघ दाङले सम्पूर्ण सरोकारावालाहरुलाई अनुरोध गरेको छ । साथै महासंघले मिडिया महोत्सवमा उपस्थित हुन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्