तुलसीपुरमा दुई अटो ठोक्किदा, पाँच यात्रु घाइते



दाङको तुलसीपुरमा दुई ओटा अटो एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । आज बिहीबार बिहान करिब साढे ११ बजे तुलसीपुर उपमहानगरपालिका–८ स्थित भम्के खोलामा अटो एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

बालापुरबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ३७९३ नंम्बरको अटोलाई बिपरीत दिशाबाट गइरहेको घोडाले झुक्याउन जाँदा विपरीत दिशाबाट जाँदै गरेको लु.प्र.०२–००१ ह ०५४० नंम्बरको अटोसंग ठोक्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

दुर्घटनामा रा १ ह ३७९३ नम्बर अटोका चालक दंगीशरण गाउँपालिका–५ का ४५ वर्षीय सुमन चौधरी, सोही अटोमा सवार दंगीशरण–६ का ४२ वर्षीय भदि ओली, लु.प्र.०२–००१ ह ०५४० नम्बरका अटो चालक दंगीशरण–५ का ४२ वर्षीय टोपबहादुर भण्डारी, सोही अटोमा सवार २७ वर्षीय प्रल्हाद चौधरी र घोडा चालक दंगीशरण–४ का ६० वर्षीय आइतराम चौधरी घाइते भएको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्