जेनजी आन्दोलनको मौका छोपेर भागेका ६ जना कैदी दाङमा पक्राउ



जेनजी आन्दोलनको मौका छोपेर दाङको तुलसीपुर कारागारबाट भागेका ६ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान मुद्दामा १५ वर्ष कैद सजाय तोकिएका राप्ती गाउँपालिका–८ पिपरीका बुधिराम चौधरी, जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद सजाय तोकिएका घोराही उपमहानगरपालिका–१३ मौलाका नारायण घर्ती मगर, १८ वर्ष कैद सजाय तोकिएका गढवा गाउँपालिका–१ का सुनिल नेपाली, १२ वर्ष कैद सजाय तोकिएका घोराही–५ का बसन्त सार्की, ८ वर्ष कैद सजाय तोकिएका घोराही–१७ का मनोज चौधरी र १४ वर्ष कैद सजाय तोकिएका सल्यान कालिमाटी गाउँपालिका–७ का जिउपाल दमाई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्रबहादुर शाहका अनुसार ती कैदीहरूलाई यही असोज १७ देखि २१ गतेसम्मको अवधिमा विभिन्न स्थानबाट पक्राउ गरी पुनः तुलसीपुर कारागारमा बुझाइएको हो।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट विभिन्न मुद्दामा सजाय भोगिरहेका ४ सय ४६ जना कैदीमध्ये २ सय ५४ जना भागेका थिए।

हालसम्म १५४ जनालाई पुनः नियन्त्रणमा लिइएको र अन्य जिल्लामा पक्राउ परेका १८ जनालाई सम्बन्धित जिल्ला कारागारमा राखिएको कारागार प्रमुख गेरबहादुर सेजवालले जानकारी दिनुभयाे।

उहाका अनुसार अझै ८२ जना कैदी फरार रहेका छन् र उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ।

प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्