हरितालिका तीज र अट्वारी पर्वको अवसरमा दंगीशरण गाउँपालिका–६, राजपुरमा “तीज तथा अट्वारी मिलन कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम दंगीशरण वडा नं. ६ को मुख्य आयोजना, दंगीशरण गाउँपालिकाको कार्यालय तथा समृद्ध समाजको आर्थिक सहयोग र जनविकास मूल समितिको सहजीकरणमा सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता वडा सदस्य टंकी भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथि पूर्व जिल्ला विकास समिति सदस्य केशव आचार्य रहनुभएको थियो । प्रमुख अतिथि आचार्यले मौलिक संस्कृति, संस्कार र परम्परालाई बचाइ राख्नु सबैको साझा जिम्मेवारी रहेको भन्दै यस्तो खालका सामूहिक पर्वले समाजलाई एकतामा बाँध्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–“प्रत्येक जातिले आफ्ना पर्व र संस्कार आफ्नै तरिकाले मनाउँछ । तिनलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो । अट्वारी र तीजलाई एकै छानामुनि राखेर मनाउनुले विभिन्न जातजातिबीच आपसी सम्मान र सहकार्यको उदाहरण प्रस्तुत गरेको छ ।”

विशिष्ट अतिथि वडा नं. ६ का वडा अध्यक्ष रोषणजंग शाहले अट्वारी र तीजले थारु तथा गैरथारु समुदायलाई एकै ठाउँमा ल्याएको भन्दै यसले समाजमा सौहार्दपूर्ण वातावरण सिर्जना गरेको धारणा राख्नुभयो । उहाँले यस्ता अवसरहरूले जातीय विविधतामाझ पनि सहअस्तित्व र एकता बढाउने उल्लेख गर्दै भन्नुभयो–“अट्वारी र तीजको संयुक्त कार्यक्रमले गाउँमै सामाजिक सद्भाव, आपसी समझदारी र मेलमिलापको सन्देश फैलाएको छ । समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन यस्ता पर्व अत्यन्तै महत्त्वपूर्ण छन् ।”

समृद्ध समाजकी अध्यक्ष दिलकुमारी वि.क.ले हरेक वर्षझैँ यस वर्ष पनि दंगीशरणमा तीज र अट्वारीलाई संयुक्त रूपमा मनाउन पाउनु ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो–“सबै जातजाति एउटै छानामुनि भेला भएर आफ्ना संस्कार साझा गर्ने अवसर मिल्दा हामीलाई गर्व लागेको छ । यसले केवल पर्व मनाउने मात्रै होइन, एकअर्काको संस्कृति बुझ्ने र सम्मान गर्ने अवसर पनि दिन्छ ।”
कार्यक्रमको स्वागत मन्तव्य जनविकास मूल समितिकी सचिव ललिता रोकाले प्रस्तुत गर्नुभएको थियो भने सहजीकरण समृद्ध समाजका भिष्मा वि.सी.ले गर्नुभएको थियो । कार्यक्रममा समितिका महिला सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । महिलाहरूले परम्परागत भेषभूषा, गीत–संगीत र नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई झनै रंगीन र आकर्षक बनाएका थिए ।

तीज र अट्वारी कार्यक्रम एकै ठाउँमा मनाउँदा दंगीशरण गाउँपालिकाभित्र विभिन्न समुदायबीचको आत्मीय सम्बन्धलाई झनै मजबुत बनाएको जनाइएको छ । सहभागीहरूको उत्साहपूर्ण उपस्थिति र सांस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई उत्सवमय बनाएको थियो ।

यस्ता कार्यक्रमहरूले केवल पर्वको उत्सव मात्र नभई सामाजिक सद्भाव, जातीय विविधता भित्रको एकता, र संस्कृतिको संरक्षणतर्फको साझा प्रतिबद्धता झल्काउँछन् । दंगीशरण गाउँपालिकामा तीज र अट्वारीलाई संयुक्त रूपमा मनाउने परम्परा आगामी पुस्ताका लागि पनि प्रेरणादायी अभ्यासका रूपमा रहने अपेक्षा गरिएको छ ।

