गुरुकुल एकेडेमी तुलसीपुरले शिक्षा, संस्कार र संस्कृतिको त्रिवेणीका रूपमा यस वर्ष पनि तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ। महिलाबीच आपसी सम्बन्ध सुदृढ पार्ने, संस्कृतिको संरक्षण गर्ने र अभिभावकलाई लक्षित गर्ने उद्देश्यसहित एकेडेमीले हरेक वर्षझैँ यसपालि पनि तीज मिलन आयोजना गरेको हो।
कार्यक्रममा लोकगायिका विष्णु सुनारको विशेष प्रस्तुति रहेको थियो। उहाँले प्रस्तुत गरेका तीज गीतले सम्पूर्ण वातावरणलाई झन् उल्लासमय बनाउँदै अभिभावकदेखि पाहुना सम्मलाई छमछमी नाच्न प्रेरित गर्यो।
त्यस्तै, गुरुकुल एकेडेमी घोराही र लमहीका लोकप्रिय गायिकाद्वय सिमरण परीयार र रेखा पोख्रेलले पनि आफ्ना मधुर आवाजमा तीज गीत प्रस्तुत गर्दै माहोललाई झनै रमाइलो बनाए। उनीहरूको प्रस्तुति शिक्षक–शिक्षिका र विद्यार्थी समेतका लागि मनोरञ्जनको खास क्षण बनेको सहभागीहरूले बताए।

सांस्कृतिक पहिरनमा सजिएका महिला दिदीबहिनीहरूले नृत्य र गायनमा सक्रिय सहभागिता जनाउँदै हरितालिका तीजको उल्लासलाई जीवन्त बनाए। कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले परम्परागत पर्वलाई संस्थागत रूपमा संरक्षण गर्दै आएको प्रयास सराहनीय भएको प्रतिक्रिया दिएका थिए।
विद्यालयले तीज पर्वलाई खुशी, सौहार्द र एकताको प्रतीकका रूपमा लिँदै, यस प्रकारका कार्यक्रमले विद्यार्थी मात्र नभई अभिभावकसँग पनि सम्बन्धलाई अझ घनिष्ठ बनाउन मद्दत पु–याउने विश्वास व्यक्त गरेको छ।
गीत, नृत्य, पारिवारिक भेटघाट र दर खाने कार्यक्रमसहित सम्पन्न तीज मिलनमा उपस्थित सबै सहभागीहरू उल्लासका साथ रमाएका थिए। यसले सांस्कृतिक संरक्षणसँगै सामुदायिक एकता र सहकार्यलाई अझ मजबुत बनाएको अनुभव गरिएको छ।

