पत्रकार महिलाका चुनौतीबारे दाङमा परामर्श, लैङ्गिक संवेदनशील पत्रकारिताको जोड



महिला पत्रकारका सवाल र सुरक्षाका विषयमा गम्भीर छलफल गर्दै दाङको घोराहीमा एकदिने प्रारम्भिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । पत्रकार महिला मञ्च दाङको आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा आयोजित कार्यक्रममा पत्रकार महिलाको सुरक्षित कार्य वातावरण तथा लैङ्गिक समानताको आवश्यकतामाथि वक्ताहरूले जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारितामा लैङ्गिक संवेदनशीलता अनिवार्य रहेको बताउँदै महिला र पुरुषबीच समान व्यवहारबिना सशक्त पत्रकारिता सम्भव नभएको उल्लेख गर्नुभयो । उहाँले महिलाको पेशागत, भौतिक, मानसिक र सामाजिक सुरक्षालाई सञ्चारमाध्यमले विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।

महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्माले पत्रकार महिलाको एजेन्डा महासंघको साझा विषय भएको उल्लेख गर्दै अनलाइन तथा सामाजिक सञ्जालमार्फत महिला पत्रकारमाथि बढ्दो साइबर हिंसाप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले समावेशी पत्रकारिता र लैङ्गिक सन्तुलनका लागि रणनीतिक योजना बनाइएको जानकारी दिनुभयो ।

महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले महिलाहरू पत्रकारितामा दीर्घकालीन रूपमा टिक्न नसक्नुको पछाडि कार्यस्थलको विभेद, पारिवारिक बोझ र सामाजिक सोचको असर रहेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै मञ्चकी अध्यक्ष लक्ष्मी आचार्यले पत्रकार महिलाका लागि सुरक्षित र अनुकूल कार्यस्थल, समान अवसर र पहुँच सुनिश्चित नगरी लैङ्गिक समानता सम्भव नहुने बताउनुभयो ।

अन्य वक्ताहरूले पनि महिला पत्रकारहरू कार्यस्थल मात्र नभई घर र समाजबाट समेत निरुत्साहित हुने अवस्था, निर्णय तहमा प्रभावकारी सहभागिता, संस्थागत नीतिगत सुधार, मानसिक हिंसा र शब्दीय आक्रमणजस्ता विषयमा धारणा राख्दै संरचनागत परिवर्तनका लागि साझा आवाज र प्रतिबद्धताको आवश्यकता औँल्याएका थिए ।

कार्यक्रममा पत्रकार प्रदीप मज्गैँयाले प्रेस काउन्सिल लगायतका निकायहरूमा लैङ्गिक संवेदनशीलता अझै पर्याप्तरूपमा नसमेटिएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्