तुलसीपुरमा कपडा व्यवसाय गर्दै आएका एक दम्पतिको सवारी दुर्घटनामा परी मृत्यु 



दुर्घटनामा परी तुलसीपुरमा कपडा व्यवसाय गर्दै आउनुभएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० का ५० वर्षीय नरबहादुर ओली र उहाँको श्रीमती ४४ वर्षीया लिला ओलीको मृत्यु भएको हो ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० अमलाटाकुरी स्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा सोमबार दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको जिप ब्रेक फेल भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमानको घटनास्थलमै मृत्यु भएको हो भने श्रीमतीको चौरजहारी नगर अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको हो । उहाँहरु दुवै जना कुलपुजा गरेर तुलसीपुर फर्कदै गर्नुभएको थियो ।

दुर्घटनामा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते हुनेमा जिप चालक दाङ तुलसीपुर उपमहानगरपालिका ७ का ४४ लिलामणी भण्डारी र सोही स्थानका ५० वर्षीया दूर्गा ओली रहनुभएको छ । घाइतेको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी ब्रेक फेल भएर ४ सय मिटर तल माथिल्लो सडकबाट तल्लो सडकमा खसेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्