तुलसिपुर–१४ मा अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण, आर्थिक सशक्तिकरणमा टेवा



तुलसिपुर उपमहानगरपालिका वडा नं. १४ मा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तिकरणका लागि बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत लक्षित वर्गका लागि सञ्चालन गरिएको उक्त कार्यक्रममा अपाङ्गता भएका ६ जनालाई १/१ वटा बाख्रा प्रदान गरिएको हो।

कार्यक्रम अपाङ्ग सेवा संघ दाङको समन्वय, हात्तीढुङ्गा अपाङ्गता समावेशी स्वाबलम्बन समूहको सहआयोजना र वडाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा समूहका अध्यक्ष पोषणराज खत्रीको अध्यक्षता तथा वडा अध्यक्ष शंकरकुमार खड्काको प्रमुख आतिथ्य रहेको थियो।

प्रमुख अतिथि खड्काले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तिकरण वर्तमान आवश्यकता भएको उल्लेख गर्दै वडाबाट वितरण गरिएका बाख्राले उनीहरूको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयाे । उहाले आगामी वर्षको बजेटमा पनि अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी आयमूलक कार्यक्रमहरू समावेश गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

कार्यक्रमका अर्का अतिथि वडा सचिव आशाराम चौधरीले सेवा प्रवाहमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिँदै आएका कुरा उल्लेख गर्नुभयाे। उहाले आगामी योजना तथा बजेटमा पनि अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने जानकारी दिनुभयाे।

अपाङ्ग सेवा संघ दाङका अध्यक्ष तथा समावेशी जीविकोपार्जन परियोजनाका सहजकर्ता देवा डाँगीले अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई सबैको सवाल बनाउनुपर्नेमा जोड दिनुभयाे। “राज्य, स्थानीय सरकार र विशेषतः वडा तहबाट अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणमा अर्थपूर्ण सहभागिता हुनैपर्छ,” डाँगीले भन्नुभयाे । साथै, उहाले वडाबाट वितरण गरिएको बाख्राको लागि धन्यवाद व्यक्त गर्दै यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रम समूहकी सदस्य रमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने समाजसेवी कालुप्रसाद चौधरी, टोल विकास समिति अध्यक्ष पदमबहादुर खड्का लगायतले पनि मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण समूहकी सचिव मिना चौधरीले गर्नु भएको थियाे ।

उक्त कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सबलीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्