ओमप्रकाश गुप्ता
दाङको राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिकाका सबै ९ वटै वडामा पूर्ण खोप सुनिश्चितता कायम भएपछि मंगलबार एक समारोहबीच गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर कुमार आचार्यले गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार, गाउँपालिकाभित्र १६ देखि २३ महिना र २४ देखि ५९ महिनाका बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप लगाइएको छ। सर्वेक्षण अनुसार, गाउँपालिकामा ०-१५ महिनाका ७८८, १६-२३ महिनाका ६३३ र २४-५९ महिनाका १,०२८ गरी कुल २,४४९ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्।
कार्यक्रम गाउँपालिका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समिति संयोजक प्रकाश विष्टको अध्यक्षतामा र जिल्ला समन्वय समिति दाङका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
प्रमुख अतिथि शर्माले राप्ती गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा लगातार चार वर्षसम्म जिल्लामै पहिलो स्थान हासिल गरेकोमा बधाई दिँदै खोपको महत्त्वमाथि जोड दिनुभयो। उहाँले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुने बताउनुभयो।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले खोपलाई बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक प्रयासले यो उपलब्धि सम्भव भएको बताउनुभयो।
सो अवसरमा गाउँपालिकाका ९ वटै वडालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, विभिन्न संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र पत्रकारहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गर्नुभएको थियो।