मृतकका आफन्त र टिपर व्यवसायी समितिबीच छलफलपछि अवरूद्ध सडक खुल्याे




दाङ घोराही-तुलसीपुर सडक खण्डमा यातायातका साधन सुचारु भएका छन् । टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीयले अवरूद्ध गरेको तुलसीपुर-घोराही सडक पाँच घण्टापछि खुलेको हो ।

शुक्रबार बेलुका घोराहीको सौरीकुला नजिककै टिपरको ठक्करबाट मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर ९ मछाही घर भई घोराही- १५ मा बस्दै आउनुभएका ३९ वर्षिय कुल बहादुर बस्नेतको मृत्यु भएको हो ।

टिपर चालकलाई कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बिहान ६ बजेदेखि सडक अवरूद्ध गरेका थिए।

बिहान ११ बजे मृतकका आफन्त र टिपर व्यवसायी समितिबीच छलफलपछि अवरूद्ध सडक खुलाउने सहमति भएको हो ।

क्षतिपूर्तिबारे कुरा समिति र मृतकका परिवारबीच कुरा मिलेपछि पाँच घण्टादेखि अवरूद्ध सडकमा सवारी आवागमन सुरू भएको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभयो ।

शुक्रबार बेलुका सवा ८ बजेतिर बस्नेत सवार बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले घोराही – १० अम्राई नजिकै ठक्कर दिएको हो ।

बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । टिपर चालक प्रहरीको नियन्त्रणमा रहेको एसपी केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्