स्थानीय कृषि उत्पादनलाई बजारमुखी बनाउन बजार रणनीतिक रुपरेखाको खाका तयार




दाङको दंगीशरण गाउँपालिकामा स्थानीय कृषि उत्पादनलाई व्यावसायिक, दिगो तथा बजारमुखी बनाउने उद्देश्यले कृषि उत्पादन तथा बजार व्यवस्थापन सुदृढीकरणका लागि स्थानीय स्तरको बजार रणनीतिक रुपरेखाको खाका सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।

दंगीशरण गाउँपालिका र ओरेक दाङको संयुक्त आयोजनामा श्रावण १४ गते गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिकाकी उपाध्यक्ष पीमा वली खड्काको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरी प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

छलफलका क्रममा किसानमैत्री नीति निर्माण, कृषि उत्पादनको बजारीकरण, मूल्य अभिवृद्धि, भण्डारण व्यवस्था तथा किसानका लागि सहज बजार पहुँच विस्तार गर्न सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

यस्तै, माटोको उर्वराशक्ति संरक्षण, प्राङ्गारिक मलको प्रयोग तथा जैविक खेतीको प्रवर्द्धनमार्फत दिगो कृषि प्रणाली निर्माण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रममा गाउँपालिकाका शाखा प्रमुख, वडा अध्यक्ष, सरकारी तथा गैरसरकारी संघसंस्थाका  प्रतिनिधि, कृषक सहकारीका प्रतिनिधि र महिला कृषकहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्