रासायनिक मल आयातका लागि चार लाख ७१ हजार मेट्रिक टनको बोलपत्र आह्वान



सरकारले चालू आर्थिक वर्षका लागि कुल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ। हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको मल आयातका लागि बोलपत्र आह्वान गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

रासायनिक मल खरिदका लागि सरकारले २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। हाल एक लाख ९४ हजार ८५ मेट्रिक टन मल आपूर्तिको चरणमा रहेको छ।

अहिलेसम्म कृषि सामग्री कम्पनीले एक लाख १५ हजार चार सय पाँच मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनले ७८ हजार छ सय ८० मेट्रिक टन मल आपूर्ति गरेका छन्। हाल देशभर एक लाख आठ हजार नौ सय आठ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हिउँदे खेतीका लागि पर्याप्त मात्रामा मल मौज्दात भए पनि किसानले चाहिने समयमा अभाव भोग्नुपरेको गुनासो यथावत् छ।

 

प्रकाशित मिति : २०८२ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्