
लुम्बिनी प्रदेशमा हालसम्म कुल ५२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालयका अनुसार ३ लाख २ हजार ९३९ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५७ हजार ८५७ हेक्टरमा रोपाइँ सकिएको हो।
प्रदेशको पहाडी जिल्लामध्ये प्यूठानमा सबैभन्दा धेरै, ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यहाँ ६ हजार ५२५ हेक्टरमध्ये ५ हजार ६१२ हेक्टरमा रोपाइँ सकिएको छ।
तराईमा सबैभन्दा अगाडि पश्चिम नवलपरासी रहेको छ। यहाँ २० हजार ४८० हेक्टर क्षेत्रफलमध्ये १८ हजार ४३२ हेक्टरमा (९० प्रतिशत) रोपाइँ सकिएको छ।
दाङमा कुल ३७ हजार २२५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ७५१ हेक्टरमा मात्र रोपाइँ भएको छ। बाँकेमा ३४ हजार ७११ हेक्टरमध्ये १५ हजार ६२० हेक्टरमा (४५ प्रतिशत) रोपाइँ सकिएको छ।
बर्दियामा ५० हजार १५० हेक्टरमध्ये २९ हजार ५८९ हेक्टरमा रोपाइँ भएको छ।
गुल्मीमा ७ हजार ५३९ हेक्टरमध्ये ४ हजार १३६ हेक्टरमा धान रोपाइँ सकिएको छ।
लुम्बिनी प्रदेशका अधिकांश पहाडी तथा तराई जिल्लामा रोपाइँ तीव्र रूपमा अघि बढिरहेको छ। धेरैजसो ठाउँमा समयमै वर्षा भएपछि रोपाइँको गति राम्रो देखिएको निर्देशनालयको निष्कर्ष छ।

