
कृषक महिलाहरूलाई उद्यमशील बनाउने र उनीहरूको आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यले तुलसीपुरमा पाँच दिने उद्यमशीलता तथा सीप विकास तालिम सम्पन्न भएको छ। ओरेक नेपालद्वारा आयोजित तालिममा महिलाहरूलाई नवीन योजना, व्यावसायिक सोच, लगानीको उपयोग र सरकारी अनुदानको पहुँचबारे व्यवहारिक ज्ञान दिइएको थियो।
तालिममा सहभागी गीता केसीले नाफा–नोक्सानको मूल्यांकन, अनुदान कसरी लिन सकिन्छ भन्ने स्पष्ट जानकारी पाएको बताउनुभयो। उर्जाशील कृषक समूह दंगीशरण–३ चखौराकी मञ्जु चौधरीले कृषकहरूले गरेको परिश्रम अनुसार मूल्य नपाउने गुनासो गर्दै, पहुँचवालाहरूले मात्र अनुदानको फाइदा लिइरहेको बताउनुभयो। उहाँले आफ्नै लगानीमा पनि व्यवसाय सुरु गर्न सकिने आत्मविश्वास तालिमले दिएको बताउनुभयो।
कृषक रेश्मी चौधरीले किसानहरूले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गर्ने अधिकार किसानहरूसँगै हुनुपर्नेमा जोड दिनुभयो। उहाँले “सरकारले कृषकका लागि के गरिरहेको छ भन्ने जानकारीसम्म नपाएको अवस्था छ,” भन्दै सूचना र जानकारीबाट किसान टाढा रहेकोमा चिन्ता व्यक्त गर्नुभयो।
अन्य सहभागी देवा गिरीले “योजना बिना गरेको काम लगामबिनाको घोडा सरह हो” भन्दै व्यवसायलाई योजनाबद्ध ढंगले अघि बढाउँदा मात्र सफलता मिल्ने कुरा तालिमले सिकाएको बताउनुभयो। उहाँले कृषकहरूको लगानी खेर नजाओस् भनेर स्थानीय सरकारले बजार अनुगमनमा सक्रियता देखाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
तुलसीपुर सिर्जनशील समूहकी विनिता चौधरीले कृषकहरूलाई दिइने अनुदानको प्रतिशत, खर्च र नाफाको सम्बन्धबारे उपयोगी जानकारी प्राप्त गरेको बताउनुभयो। “सरकारको कृषि शाखा, सहकारी संस्था, बजारसँग जोडिने बाटाहरूका बारेमा जान्न पाउनु ठूलो उपलब्धि हो,” उहाँले भन्नुभयो।

ओरेक नेपालकी कार्यक्रम संयाेजक सावित्री बि.क ले महिलाहरू अझै उत्पादन, बजार व्यवस्थापन र सूचनाको पहुँचबाट बञ्चित भएकाले यस्ता तालिमहरूको आवश्यकता अझै रहेको बताउनुभयो। “कृषिमा सक्रिय महिलाहरूको नाममा जग्गा नहुनु, उत्पादन बिक्रीको समस्या, र कमाएको पैसा पुन: लगानी कसरी गर्ने भन्ने जस्ता यथार्थ समस्याहरूले उनीहरूलाई अघि बढ्न कठिन भएको छ,” उहाँले स्पष्ट पार्नुभयो।
दंगीशरण गाउँपालिका कृषि शाखा प्रमुख सरु भुषालले गाउँपालिकाभित्र १५३ वटा कृषक समूह गठन भइसकेको जानकारी दिनुभयो। उहाँले हरेक वडामा कृषक सञ्जाल निर्माण गरिएको र विमौसमी तरकारी उत्पादनमार्फत कृषकले राम्रो आम्दानी गर्न सक्ने सुझाव दिनुभयो।
ओरेकका जिल्ला संयोजक कल्पना चौधरीले महिलाहरूलाई उत्पादन, बजारिकरण, निगरानी र मूल्य निर्धारण प्रक्रियामा जोड्न स्थानीय पालिकाले भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानि चौधरीले कृषि शाखाबाट कृषकहरूलाई आवश्यक उपकरण, विउविजन वितरण भइरहेको जानकारी दिनुभयो। “कृषिमा केही गर्न चाहनेले कृषक परिचयपत्र लिएर कृषि शाखामा निवेदन दिँदा सहुलियत सेवा प्राप्त गर्न सकिन्छ,” उहाँले भन्नुभयो। उहाँले सानो पूँजीबाट व्यवसाय थालनी गरेर दिगो विकास सम्भव हुने धारणा पनि राख्नुभयो।
तालिममा तुलसीपुर र दंगीशरणका कृषक महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण ओरेक नेपालकी पूजा विकले गर्नुभएको थियो।

