
नेकपा एमाले दङ्गीशरण गाउँपालिका कमिटीका उप–सचिव राजकुमार थापाका पूजनीय पिता तथा समाजसेवी स्व. खिम बहादुर थापाको १३औं दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
वि.सं. २०५४ मा निर्वाचित वडा अध्यक्ष र २०७४ मा वडा नं. ५ का निर्वाचित वडा सदस्य रहनुभएका थापा अखिल नेपाल किसान महासंघ दङ्गीशरणका अध्यक्ष तथा नेकपा एमाले वडा नं. ५ कमिटीका अध्यक्षसमेत हुनुहुन्थ्यो। उहाँको सामाजिक र राजनीतिक योगदानको स्मरण गर्दै शनिबार दङ्गीशरण–५ मा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम नेकपा एमाले दङ्गीशरण गाउँपालिका कमिटीका अध्यक्ष बसन्त ओलीको अध्यक्षता र नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुकुम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा नेकपा एमाले दाङ जिल्ला कमिटीका उपाध्यक्ष मनोहर बुढाथोकी, सदस्यहरू मेघनाथ शाह, भागिराम चौधरी, इश्वरी गौतम, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य कृष्ण चौधरी, लुम्बिनी प्रदेश सहकारी विभागका सदस्य भरत अधिकारी, क्षेत्र नं. ३ का क्षेत्रीय सदस्यहरू श्रीप्रसाद चौधरी, विजया चौधरी, इन्द्रमणि बस्नेत, गोविन्द बस्नेत, हिरा चौधरी लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा स्व. थापाको जीवनीमाथि उहाँका कान्छा छोरा तथा नेकपा एमाले दङ्गीशरण गाउँपालिका कमिटीका उप–सचिव राजकुमार थापाले प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको सहजीकरण नेकपा एमाले दङ्गीशरण गाउँपालिका कमिटीका सचिव खुसीराम चौधरीले गर्नुभएको थियो।

