
माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको ५५औँ वार्षिक उत्सव तथा अभिभावक भेला आज सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश कुमार रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्ने वक्ताहरूले शिक्षा सुधार बिना अन्य क्षेत्रको विकास सम्भव नहुने बताएका छन्। उनीहरूले राज्यले शिक्षा क्षेत्रमा कन्जुस्याइँ गर्दै आएको उल्लेख गर्दै शैक्षिक सुधार व्यवहारिकभन्दा भाषणमै सीमित रहेको गुनासो व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई उपमहानगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रमा लगानी बढाउँदै शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापनसँग सहकार्य गरी सुधारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि पूर्व मेयर ढुण्डिराज लामिछानेले विद्यालयको प्रगतिमा शिक्षकको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने बताउँदै सेन्टर माध्यमिक विद्यालयले छोटो समयमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्नुभयो। उहाँले अन्य सामुदायिक विद्यालयले पनि यस विद्यालयबाट प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष लेखकराम पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न अझै विभिन्न चुनौती रहेको बताउनुभयो। उहाँले राज्यले नीतिगत तथा आर्थिक सहयोगमा कन्जुस्याइँ गर्न नहुनेमा जोड दिँदै सरकारीभन्दा विद्यालयकै स्रोतबाट तलब खाने शिक्षकको संख्या धेरै भएकाले सामुदायिक विद्यालय सुधार चुनौतीपूर्ण बनेको बताउनुभयो।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दुजमान भण्डारी, मानवअधिकारकर्मी सुशील बस्नेत, तुलसीपुर नगर जेसिजका अध्यक्ष कमलराज शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालयको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै विद्यालय तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडासँगै सल्यान, जाजरकोट, अछाम र जुम्ला सम्मका विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् ।
विद्यालयमा शिशु कक्षादेखि कक्षा १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठन हुँदै आएको छ भने कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा संकाय सञ्चालनमा छन्। साथै कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङ विषय अध्यापन हुँदै आएको छ। सूचना प्रविधि र जियोमेटिक्स विषयमा तीन वर्षे डिप्लोमा कार्यक्रम सञ्चालनमा रहेका छन् भने विभिन्न निःशुल्क प्रि–डिप्लोमा कार्यक्रममार्फत विद्यार्थीलाई सीपमूलक तथा रोजगारीसँग जोडिने शिक्षा प्रदान गरिँदै आएको जानकारी दिनुभयो ।
कार्यक्रमको सहजीकरण शिक्षक भोला पौडेल र मेनका राजकोटीले गर्नुभएको थियो।
वार्षिक उत्सवका अवसरमा विद्यार्थीहरूले थारु नृत्य, मगर समुदायको भूमि नृत्य, कराते–काटा, साधना लगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।
पाँच दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा योगदान दिँदै आएको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर २०८१ सालमा सामुदायिक विद्यालयमध्ये नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा सम्मानित भएको थियो।

