-सि.एम विश्वकर्मा
सामान्य अर्थमा सहकारी भन्नाले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग–सँगै गरिने कामलाई बुझिन्छ । अर्को अर्थमा भन्नुपर्दा “एकका लागि सबै र सबैका लागि एक” भन्ने भावना र व्यवहार मार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको लागि गरिने सामुहिक प्रयास नै सहकारी हो ।
सहकारीमा संलग्न सदस्यहरुको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु, समुदायको हितका लागि संगठित भई सहकारीको सिद्धान्त, मुल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गर्ने, पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्ने, समाजमा व्याप्त गरिवी, व्यापारिक एकाधिकार जस्ता आर्थिक एवं सामाजिक विसंगतहरुको अन्त्य गर्नु, सहकारिताको माध्यमबाट समाजका निम्न आय भएका समुदायको जीवनस्तर माथि उठाई उनीहरुको सामाजिक न्याय दिलाउनु, सहकारीमा मुलतः आर्थिक, सामाजिक, न्यायिक एवं शैक्षिक उदेश्यहरु राखेर स्थापना गरिएको हुन्छ ।
अन्तर्राष्ट्रिय सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरुका आधारमा सदस्यहरुमा छरिएर रहेको स्रोत र साधनलाई एकीकृत गरी सदस्यहरुका निर्वाचित प्रतिनिधिद्वारा संचालित एवं प्रजातान्त्रिक पद्धतिबाट नियन्त्रित सहकारी संस्थाको माध्यमद्वारा प्रत्येक सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहकारी स्थापना भएका हुन्छन ।
६० जना स्थानीय बासिन्दालाई सहभागिता गराएर प्रत्येक व्यक्तिबाट शेयर वापत रु.१० का दरले जम्मा गरी ६ सय पुँजी कायम गरि नेपालमा पहिलोपटक स्थापना गरिएको संस्था बखान सहकारी वि.सं. २०१३ साल चैत्र २० गते दर्ता भएको थियो । सोही दिनलाई हाल सहकारी दिवस भनेर मनाउने प्रचलन रहेको छ । नेपालका सहकारी जन्मदाता बखानसिहं गुरुङको त्यो सोच र योजनाले आज नेपालमा ३५ हजार भन्दा बढि सहकारीहरु स्थापना भएका छन् । एउटा महान व्यक्ति बखानसिहं गुरुङलाई आज सबैले सम्झनु पर्दछ ।
“मर्यादित सहकारीः समुन्नत समाज” भन्ने मुल नाराका साथ ६८ औँ राष्ट्रिय सहकारी दिवस–२०८१ देशैभर आज मनाईरहेका छौ । उक्त नारालाई सार्थकता बनाउन सबै सहकारीहरु सक्षम बन्नुपर्दछ । नेपालमा अहिले सहकारीमा केहि समस्या देखिएका छन् । केहि सहकारीमा समस्या देखिएतापनि नेपालमा भएका ३५ हजार मध्य सबै सहकारीहरु भने खराब छैनन् र समस्या देखिएका होईनन् ।
देशमा मर्यादित सहकारीहरु पनि छन् जुन सहकारीहरुले स्थानीय समुदाय र राष्ट्रको समृद्धिका लागि थुप्रै उदाहरणीय कार्यहरु गरेका छन् । सहकारीहरु द्धारा विद्यालय, रेडियो, डेरी उद्योग, पेट्रोलपम्प, तेल मिल, जैविक मल उत्पादन लगायत थुप्रै कार्यहरु गरेका छन् । केहि सहकारीका सञ्चालकहरु र केहि व्यक्तिका कारण सहकारी प्रति समुदायमा विश्वासको कमि आएको छ । एउटै सहकारीको कारण सबै सहकारी यस्तै हुन भन्ने मानिसमा त्यस्तो सोचको विकास भएको छ ।
सहकारी सदस्यहरु बिच बचत र लगानी गर्ने अबसर प्राप्त, देशमा रोजगारीको सिर्जना, उत्पादन र बजारीकरणमा सहकारीको भुमिका, महिलाहरुमा सशक्तिकरण, क्षमता अभिवृद्धि, पर्यापर्यटन, कृषि वन उद्यमको विकास, जलवायु परिवर्तनमा न्युनिकरण लगायत समाजमा सचेतना मुलक गतिविधिहरुले देशको समृद्धमा सहकारीले केहि भुमिका खेलिरहेको हामी भुल्नु चाहिँ हुदैन ।
हो ! सहकारीमा सुशासन, पारदर्शीता र मर्यादित नभएकै देखिन्छ । कतिपय कुरामा नियमन निकायले समय समयमा अनुगमन नगर्दा सञ्चालकहरु सहकारीको मुल्य, मान्यता र सिद्धान्त बाहिर रहेर गतिविधिहरु गरिरहेका हुन्छन् । स्थानीय तहभित्र रहेका सहकारीको नियमन र अनुगमन गर्ने जिम्मा स्थानीय तहको भयो ।
एक भन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारीको जिम्मेवारी प्रदेशको रह्यो र एक प्रदेश भन्दा बढीमा कार्यक्षेत्रको जिम्मेवारी संघको तोकियो । सबै तहका सरकारले पूर्णरूपमा सहकारीलाई प्राथमिकता दिन सकेनन् र गलत मनसाय भएका केही सहकारी सदस्य नकारात्मक सोचमा लागे ।
प्रदेश र स्थानीय तहका सरकारले सहकारीलाई नियमन र अनुगमन गर्ने नीति, संरचना र जनशक्तिको व्यवस्थापन समयमै गर्न सकेनन् । केही सहकारी लगामबिनाका घोडा भए । सहकारीमा तुरुन्तै सदस्य हुन पाइने र अन्य सदस्यसरह सहकारीका क्रियाकलापमा सहभागी हुने गलत अवधारणाले पनि सहकारीमा समस्या आएको हो ।
केही सहकारीका सीमित सदस्यहरू सहकारीलाई पारिवारिक रूपमा सञ्चालन गर्न उत्साहित भएका देखियो । सामान्यतः सहकारीको लेखा परीक्षणमा पनि सामान्य सिद्धान्तको पालना भएन । शेयर सदस्यसम्म सही वित्तीय सूचना पुग्न सकेन । साधारण सभा औपचारिकरूपमा सम्पन्न गरियो । नियमन निकायको समय समयमा अनुगमन हुन सकेन र गलत कार्य गर्नेलाई सजाय र राम्रो कार्य गर्ने सहकारीलाई प्रोत्साहन भएको पाईएन ।
संघीय शासनमा तहगत सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गर्न नसक्दा गलत मनसायका मानिसलाई सजिलो भयो । सहकारीमा नैतिक बलको ह्रास, चाडो पैसा कमाउने संस्कृति हावी भयो । एउटा सहकारीमा भएको समस्याको हल्लाले सबै सहकारी प्रभावित भए । पैसाको कारोबार गर्ने इजाजत र नियमन गर्न सामान्य पूर्वाधार पनि नभएका तहगत सरकारलाई दिइयो ।
सहकारीका विषयमा तहगत सरकारबीचमा समन्वय र सहकार्यको अभाव देखियो । यी यावत् समस्या र चुनौतीका बाबजुद पनि धेरै सहकारी सफलताका लागि अहिले संघर्ष गरिरहेका छन् । बचत तथा ऋण सहकारीको क्षेत्रमा मात्र धेरै समस्या देखिएका छन् । हाल बचत तथा ऋण सहकारीको १० प्रतिशतमा मात्र समस्या देखिएका छन् । तर समस्या समाधान गर्न समयमै ध्यान दिइएन भने यसले विकराल समस्या ल्याउन सक्ने देखिन्छ ।
सहकारीलाई समस्या नभएका सहकारी, जोखिम हुन सक्ने सहकारी र समस्याग्रस्त सहकारीका रूपमा वर्गीकरण गरी तीनै प्रकारका सहकारीका लागि फरक फरक रणनीति सहित अघि बढ्नुपर्दछ । सहकारीका चुनौती सामना गर्न र समस्या समाधान गर्न नियमन निकाय, सञ्चालक र स्वयं शेयर सदस्यको सक्रिय भूमिकाको खाँचो देखिन्छ । चुनौती सामना गर्न दीर्घकालीन सोच सहित कार्ययोजना सहितको अग्रसरता आवश्यकता देखिन्छ ।
सही मार्गमा रहेका सहकारीको प्रोत्साहन सहित संरक्षण गर्ने र जोखिमबाट जोगाउन छुट्टै रणनीति सहित अघि बढ्नुपर्ने हुन्छ । ती सहकारीको सिकाइ अरू सहकारीमा पनि जोड्नुपर्छ । समस्या नभएका सहकारीलाई नकारात्मक हल्लाले असर नपर्ने गरी सही सूचना शेयर सदस्यसम्म पुर्याउनु आवश्यक छ ।
जोखिम हुन सक्ने सहकारीको तथ्यसहितको सूचना संकलन गर्ने र आउन सक्ने जोखिमबारे शेयर सदस्यबीच खुला छलफल गर्ने र सहकारीको प्रतिष्ठाका लागि तरलताको व्यवस्थापन, ऋण असुलीका कार्ययोजना र शेयर सदस्यका लागि सही सूचना प्रवाह गरी जोखिम हुन नदिन वा समस्या न्यूनीकरण गर्न जोड दिन आवश्यक छ ।
सहकारीको समस्या आफँैमा छ भन्ने धारणा बन्नुपर्छ । विधि पालना गर्ने, सञ्चालक शेयर धनी र व्यवस्थापकले जोखिमविरुद्ध रणनीतिसहित अगाडि बढ्ने, क्रियाकलापको पारदर्शिता, जिम्मेवारी बोध गर्ने, शेयर सदस्यप्रति जवाफदेही हुने र उत्तरदायीपूर्ण नेतृत्व चयन गर्ने जस्ता सुशासनका विधि पालनामा लाग्नैपर्छ । मेरो हैन हाम्रो भन्ने मान्यताका आधारमा कार्यकुशलता बढाउने, राजनीति भन्दा व्यवसायिकतामा रमाउने, मितव्ययी व्यवहार, सदाचारिताको आचरण र नैतिक बलमा जोड दिन सके विकृति हराउँदै जानेछ ।
राम्रो मनसाय भएको व्यक्ति र स्वच्छ सहकार्यता एवं सहभागितामूलक व्यवस्थापनको वातावरण बनाउन सके सहकारी राष्ट्रको दरिलो खम्बा बन्न सक्छ ।
अन्तमा, ६८ औँ राष्ट्रिय सहकारी दिवसको अबसरमा सम्पूर्णमा हार्दिक शुभकामना ।
जय सहकारी!