मुक्त कमलरी सशक्तीकरण परियोजना’ का विषयमा सरोकारवालासँग छलफल



मुक्त कमलरी विकास मञ्च दाङले ‘मुक्त कमलरी सशक्तीकरण परियोजना’ अन्तर्गत आगामी योजनाहरूको विषयमा सरोकारवालासँग छलफल कार्यक्रम आयोजना गरेको छ ।

छलफलमा परियोजनाको तेस्रो चरणअन्तर्गत सन् २०२५ मा लक्षित वर्गका लागि जीविकोपार्जन तालिम, आयआर्जनका कार्यक्रम, जनचेतना अभिवृद्धि, सामूहिक वकालतका लागि सञ्जाल निर्माण तथा जवाफदेही प्रणाली सुदृढीकरण लगायतका गतिविधिहरू सञ्चालन गरिने जानकारी गराइएको थियो ।

परियोजनाका प्रोजेक्ट अफिसर सुबोध कुमार चौधरीले विगतको प्रगति विवरण प्रस्तुत गर्दै सन् २०२४ मा मात्रै ४६५ भन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा सेवा दिइएको र करिब पाँच सय जना अप्रत्यक्ष लाभग्राहीले लाभ लिएको जानकारी दिनुभयो । उहाँले परियोजनाले सामाजिक तथा आर्थिक सशक्तीकरणसँगै मानव अधिकार प्रवद्र्धन, लैङ्गिक हिंसा रोकथाम र बालविवाह न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभयो ।

परियोजनाबाट मुक्त कमलरी, सीमान्तकृत महिला तथा दलित महिलाहरू लाभान्वित भएका छन् । परियोजनाले मुक्त कमलरी र सीमान्तकृत महिलाहरूको लागि सामाजिक न्याय र मानव अधिकारको प्रवद्र्धन गर्दै भेदभावमुक्त समाज निर्माण गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले नतिजा देखिने गरी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।

कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाको वडा नंम्बर १५, १६ र १८ मा सञ्चालन गरिनेछ । कमलरी प्रथा अन्त्य र मुक्त कमलरीहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले सन् २०६७ सालमा स्थापना गरिएको ‘फ्रिड कमलरी डेभलपमेन्ट फोरम’ (एफकेडीएफ) ले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा नंम्बर १८ का अध्यक्ष माधव ओली, वडा नंम्बर १६ का अध्यक्ष शिबानन्द डाँगी, वडा नंम्बर १५ का अध्यक्ष लक्ष्मण थारु, महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

मञ्चकी केन्द्रीय सदस्य रुपनी चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजीकरण परियोजनाका सामाजिक सहजकर्ता सरीता चौधरीले गर्नुभएको हो ।

 

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्