तस्बिर : देवीराम कुसारी
दाङको तुलसीपुर–अमलिया सडकखण्डमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।
मृत्यु हुनेमा दंगिशरण गाउँपालिका–२ का ३७ वर्षीय शान्ता खड्का चौधरी र ६५ वर्षीय नारायण भण्डारी रहेका छन्।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमध्ये हालसम्म २३ जनाको नाम सार्वजनिक गरिएको छ। घाइतेहरू सबै दंगिशरण गाउँपालिका–२ का स्थानीय हुन्।
घाइतेहरूमा मनिसा बस्नेत (२५), गोमा सार्की (५२), मोतिसरा सुनार (६०), किसिता पुन (३४), सिमा पुन (३२), कमला नेपाली (२७) र उनका छोरा शंकर नेपाली (८) तथा भदै शुसान्त नेपाली (९) छन्।
त्यसैगरी नोखीराम बिक (४१), कुसल बिक (४८), ललिता सुनार (२५), कमला नेपाली (४५), अमृत कुसारी (२३), पार्वति नेपाली (४५) र उनका छोरा राजेश नेपाली (१२) पनि घाइते भएका छन्।
अन्य घाइतेहरूमा प्रवल परीयार (१०), भिमा घर्ति (४४), लक्ष्मी नेपाली (४३), एशोदा बस्नेत (१५), चुडामनी बिक (५४) र बालिका ओली (४१) रहेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटना तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बिहान करिब ११ बजे भएको हो।
गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस (ना ४ ख ४००९) र बखरियातर्फ गइरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको खाली स्कुल बस (रा १ क ८७०) आपसमा ठोक्किँदा दुर्घटना भएको हो। ठक्करपछि यात्रुबाहक बस सडकबाट करिब ४५ मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि दुवै बसका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो।