दाङको घोराहीमा आयोजित फुटसल प्रतियोगितामा महिला पत्रकारहरूको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएको छ। दाङ महिला जेसीजको आयोजनामा जेसीस सप्ताह २०२५ को अवसरमा आयोजित उक्त प्रतियोगिताले महिला सशक्तिकरण, खेलकुद र नेतृत्व विकासलाई एउटै मञ्चमा उजागर गर्यो।
नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष नारायणी रजौरेको नेतृत्वमा रहेको महिला पत्रकार समूहले प्रतियोगितामा सहभागी चार समुहमध्ये उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुम्न सफल भयो। उक्त प्रतियोगितामा राजनीतिक दल, विभिन्न संघसंस्था र जेसीजका महिलाहरू गरी जम्मा चार समूहको सहभागिता रहेको थियो।
कार्यक्रमको समापन समारोह दाङ महिला जेसीज अध्यक्ष अनिता ढकालको अध्यक्षता र लुम्बिनी प्रदेशसभा सदस्य लोका विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
उक्त अवसरमा प्रमुख अतिथि विश्वकर्माले दाङ महिला जेसीजले युवाहरूमा नेतृत्व विकास, सामाजिक कार्यमा सक्रियता र सकारात्मक सोच प्रवाह गर्न उल्लेखनीय भूमिका खेलेको बताउनुभयाे।
“महिला हरेक क्षेत्रमा अग्रसर हुनु अत्यावश्यक छ,” उहाले भन्नुभ याे- “महिलालाई आत्मनिर्भर बनाउन मेरो तर्फबाट आवश्यक सहयोग सदैव रहनेछ।”
कार्यक्रमको निर्देशन जेसीज आस्थाकी पाठ प्रकरण निर्देशक रेमन्ता पुनले गर्नुभएको थियो भने सहजिकरण महासचिव भिमा डिसीले गर्नुभएको थियो।
दाङ महिला जेसीजले यसअघि पनि जेसीस सप्ताहको अवसर पारेर रक्तदान, सरसफाइ, युवा जागरण जस्ता सामाजिक कार्यक्रमहरू सञ्चालन गरिसकेको छ।
कार्यक्रम संयोजक प्रज्ञा स्वर्णकारका अनुसार यस वर्षको जेसीस सप्ताह महिला सशक्तिकरण र समुदायमा सकारात्मक प्रभाव छोड्ने उद्देश्यसहित सफल रूपमा अगाडि बढाइएको हो।
खेलकुदजस्ता कार्यक्रमहरू महिला सहभागिता, नेतृत्व विकास र सामाजिक सद्भावका लागि सशक्त माध्यम बन्न सक्छन् भन्ने उदाहरण दाङ महिला जेसीजले प्रस्तुत गरेको छ। महिला पत्रकारको यो विजय त्यही प्रतिबद्धताको प्रतिफल हो।


