
दिप्तिशिखा चाैधरी
दाङको दंगीशरण गाउँपालिका अहिले विकासका हिसाबले नयाँ रुप लिएको छ। यसको मुख्य आधार बनेको छ हेकुली–बैबाङ सडकको कालोपत्रे स्तरोन्नति र बबई नदीमाथि बनेको पक्की पुल।
दशकौंदेखिको स्थानीयको माग, गुनासो र प्रतिक्षालाई समाप्त गर्दै अहिले गाउँ विकास, व्यापार र आवागमनमा गति लिन थालेको छ।
स्थानीय बासिन्दा कल्चु चौधरी भने,- “हामीले बर्षौंदेखि यही बाटोमा हिँड्यौं। पहिले बर्खामा हिलो र हिउँदमा धुलो थियो। अब पक्की बाटो भएपछि सहज भएको छ।”
गोलटाकुरी–१ की मिना कुमारी बस्नेत अब ढुक्क भएर छोरी छोरालाई स्कुल पठाउँछिन्। “पहिले खोलामा पानी बढ्दा डर लाग्थ्यो। बाटो चिप्लो हुन्थ्यो। अब पक्की पुल र बाटोले हाम्रो दैनिकी सजिलो बनाएको छ, बबई पारिका बालबालिका सजिलै विधालय जान्छन् ।” उनले भनिन् ।
बैबाङका कृषक रामप्रसाद चौधरीका अनुसार अहिले बर्खामा पनि बजार जान सकिन्छ। “ १ र २ न.वडाका नागरिकलाइ पहिले त खोलामा बग्ने डरले हिँड्नै सकिन्थ्यो। अहिले त बिहानै गयो, बेलुकै फर्कियो। समयको बचत मात्रै होइन, जोखिम पनि हटेको छ।”
हेकुलि गाउँपालिका नजिकै गाेचाली बेकरी सञ्चालन गर्दै आएका पुनाराम चौधरीले व्यवसायमा सकारात्मक असर परेको बताए। “सडक बनेपछि ग्राहक बढेका छन्। धुलोका कारण पहिले मानिस पसल छिर्दैनथे। सामान ढुवानी पनि सजिलो भएको छ।”
स्थानीय अटो चालक भीम वलीका अनुसार यात्रा समय लगभग आधा घटेको छ। “पहिले बैबाङ जान ३० मिनेट लाग्थ्यो, अब १५ मिनेटमै पुगिन्छ। यात्रु सन्तुष्ट छन्,” उनी भन्छन्।
हेकुली–बैबाङ सडक र बबई पुल २०७६/०७७ को आवधिक योजनामा समावेश गरिएका थिए। प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा यी पूर्वाधारहरूको निर्माण कार्य अगाडि बढाइयो।
पहिलो चरणमा २०७६ पुसमा स्मृति विशाल कन्ट्रक्शन सेवा, राङ्सी रोल्पाले १५०० मिटर सडक चौडा बनाउने, नाली निर्माण गर्ने र कालोपत्रे गर्ने कार्य सम्पन्न गर्यो।
दोस्रो चरणमा सोही कम्पनीले थप ६०० मिटर सडक निर्माण गर्यो। सम्झौताअनुसार पहिलो चरण २०७८ चैतमा सम्पन्न भयो।
तेस्रो चरणमा बाँकी १८०० मिटर सडक निर्माणको जिम्मा लोकमणि बिल्डर्स प्रा.लि.ले लिएको थियाे।२०७८ जेठ २ गते काम सम्पन्न गरिएकाे थियाे।
करीब ४.५ किलोमिटर लामो कालाेपत्रे गरिएको यो सडक १२ मिटर चौडा बनाइएको छ। कुल लागत ३ करोड ५० लाख रुपैयाँमा निर्माण कार्य सम्पन्न भएको हाे। साथै, ४५ मिटर नाली पनि निर्माण गरिएको छ।
यस्तै दंगीशरण–४ बैबाङ र वडा नं. १ गोलटाकुरीलाई जोड्ने बबई नदीमाथिको २ सय मिटर लामो पक्की पुल २०७६ सालमा योजनामा परेको थियो। जलजला निर्माण सेवा कम्पनीले करिव ६ करोड रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न गर्यो। २०७७/७८ मा काम सुरु भई २०७९ मा निर्माण कार्य सम्पन्न भएको हो।
भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार यो परियोजना तोकिएको समयमा सम्पन्न गरिएका उदाहरणीय योजनामध्ये एक हो।
भौतिक पूर्वाधार विकास डिभिजन कार्यालय दाङका प्रमुख मनिस प्रशाद अर्यालका अनुसार – “सडक, नाली र पुल योजनाबद्ध रूपमा बनाइयो। यसले दंगीशरणको जनजीवन र आर्थिक गतिविधि दुबैमा सुधार ल्याएको छ।”
प्रमुख अर्यालका अनुसार, “स्थानीयको सहभागिता, जनप्रतिनिधिको इच्छाशक्ति र इन्जिनियरको योजना मिलेर यो सम्भव भएको हो। अब बाँकी सडक खण्डहरूको स्तरोन्नति गर्न रणनीति बनाइँदैछ।”
दंगीशरण गाउँपालिकाका पूर्व अध्यक्ष भागिराम चौधरीले भने- “जनताको मागअनुसार हामीले सडक र पुल निर्माण प्राथमिकतामा राख्यौं। पाँच वर्षको अवधिमा १३ किलोमिटर सडक पक्की बनायौं, दुईवटा पक्की पुल बन्यो।”
चाैधरीका अनुसार – “कार्यकालको अन्तिममा बबई पुल अन्तिम चरणमा थियो। त्यतिबेला दुईवटा झोलुंगे पुल सकिएको थियो, एउटा अन्तिम चरणमा थियो ।”
गाउँपालिकाका वर्तमान अध्यक्ष शम्भु गिरीले भने,- “अब मुख्य सडक बनेको छ। अन्य ग्राभेल सडकलाई पनि पक्की बनाउने योजना छ।”
अध्यक्ष गिरिका अनुसार – बैबाङ पुलदेखि गोलटाकुरी मिलचोकसम्म गाउँपालिकाले साढे ७ लाख रुपैयाँ विनियोजन गरेर ग्राभेल, रोलिङ र स्तरोन्नतिको काम गरिसकेको छ। गत वर्ष मर्मत कोषबाट ८ लाख खर्चेर सडक मर्मत गरिएको थियो। अहिले बाँकी ८ सय मिटर सडक कालोपत्रे गर्न प्रदेस सरकार बाट ५० लाख बजेट छुट्याइएको छ।
हेकुली–बैबाङ सडक कालाेपत्रे र बबई पुल निर्माणले दंगीशरणको जीवनशैली, यातायात, शिक्षा, स्वास्थ्य र व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको छ। ग्रामीण क्षेत्रको दुर्गमता हटेर सहज आवागमन सम्भव भएको छ।
यस्तै शैक्षिक पहुँच, स्वास्थ्य सेवा, कृषिजन्य वस्तु ढुवानी र आपतकालीन उद्धारमा समेत यो पूर्वाधारले ठूलो मद्दत पुर्याएको छ। सडक र पुल बनेपछि घोराही, भालुवाङ, नेपालगञ्ज जस्ता सहरी बजारसँगको सम्पर्क सहज भएको छ।
हेकुली–बैबाङ सडकको कालोपत्रे, नाली निर्माण र बबई पुलको निर्माण दंगीशरणका लागि केवल पूर्वाधारको परियोजना मात्र होइन, विकासको मोडेल बनेको छ। जहाँ जनताको माग, सरकारी नीति र ठेकेदारको प्रतिबद्धता मिलेपछि उत्कृष्ट परिणाम देखिन्छ भन्ने सन्देश दिएकाे छ।
यस्तो पूर्वाधारको दीर्घकालीन मर्मत, नियमित निरीक्षण र बाँकी खण्डहरूको स्तरोन्नति हुन आवश्यक छ । स्थानीय सरकारले वर्षा, बाढी र अन्य प्राकृतिक जोखिमहरूलाई समयमै सम्बोधन गरी ग्रामीण जीवन सहज, सुरक्षित र समृद्ध बनाउन अहम् भुमिका खेल्न जरुरी छ ।

