
सामाजिक न्याय स्थापना र महिला हिंसा अन्त्यका लागि सराेकारवालाहरु एकजुट भएर अघि बढ्नु पर्नेमा सराेकारवालाहरुले जोड दिएका छन्।
दलित महिला संघ दाङकाे आयाेजना तथा फाउन्डेसन फर जस्ट साेसाइटीकाे सहयाेगमा आयोजित “हरितालिका तिजकाे शुभकामना आदानप्रदान तथा सामाजिक न्याय र महिला हिंसा अन्त्यमा सराेकारवालाहरुकाे भुमिका” विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्ने बक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा सहभागी भएका जनप्रतिनिधि, महिला अगुवाहरु र दलित महिला संघद्वारा गठित साझा मञ्चका सदस्यहरुले लैङ्गिक हिंसाकाे अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक रहेको बताए।
उनीहरुले समाजमा विद्यमान विभेद र हिंसाविरुद्ध महिलाहरुको एकताबद्ध आवाजले मात्र परिवर्तन सम्भव हुने उल्लेख गर्दै सबै तहका सराेकारवालाहरुले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
दलित महिला संघ दाङका अध्यक्ष युवा कराराकाे अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका निमिक्त प्रशासकीय अधिकृत विष्णु आचार्य प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हाे ।
प्रमुख अतिथि आचार्यले महिलाहरुकाे तीज पर्व केवल सांस्कृतिक र धार्मिक कार्यक्रम मात्र नभई सामाजिक रुपान्तरणकाे अवसरका रूपमा प्रयोग हुनुपर्नेमा जोड दिनुभयो। “यस खालकाे सामूहिक कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्छन्, यस्ता अवसरलाई सचेतना र जागरण अभियानकाे रूपमा प्रयोग गर्न सकिन्छ,”- उहाले भन्नुभयो।
यसैगरी कार्यक्रममा दलित महिला संघ र विभिन्न महिला समूहका प्रतिनिधिहरुले सामाजिक न्याय स्थापनामा महिलाहरुको सहभागिता र नेतृत्व महत्त्वपूर्ण रहेको उल्लेख गर्दै विभेदविरुद्धको संघर्षलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रमकाे सहजिकरण फेडाेका सचिव गंगा विश्वकर्माले गर्नुभएको थियो।

