
साउन १५ गते आज नेपाली समाजमा परम्परागत रूपमा खीर खाएर मनाइँदैछ। वर्षा ऋतुका विशेष दिनहरू असार १५ मा दही च्यूरा र साउन १५ मा खीर खाने चलन प्राचीन कालदेखि चलिआएको मानिन्छ।
धार्मिक र सांस्कृतिक मान्यतासँग जोडिएको यस पर्वमा दूध, चामल, चिनी र मरमसला मिसाएर तयार पारिने खीर खाने गरिन्छ। साउने झरीको मौसममा खीरले स्वास्थ्यलाई बलियो बनाउने विश्वास रहँदै आएको जानकारहरू बताउँछन्।
संस्कृत भाषामा ‘पायस’ भनिने खीरलाई सात्विक आहारमध्ये उत्तम मानिन्छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार खीर पितृ कार्य र देव कार्यमा समेत विशेष महत्व राख्ने परिकार हो। वैदिक ग्रन्थहरूमा समेत यसको उल्लेख गरिएको पाइन्छ।
साउन महिना भगवान् शिवको प्रिय महिनाका रूपमा लिइन्छ। शिवलाई दूध र दूधबाट बनेका परिकार मनपर्ने भएकाले साउनमा विधिपूर्वक खीर चढाउने र खाने चलन बसेको हुनसक्ने गौतमको भनाइ छ। यद्यपि, खीर खाने चलनको शास्त्रीय आधार भने स्पष्ट रूपमा नभेटिएको पनि उनले बताए।
नेपाली समाजमा विभिन्न महिनाका १५ गतेहरूलाई विशेष परिकारका साथ मनाउने परम्परा रहँदै आएको छ। जस्तै— असार १५ मा दही च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे, माघ १५ मा मालपुवा बनाएर इष्टमित्र तथा छोरीचेलीलाई बोलाई खुवाउने र आफैँ पनि खाने लौकिक संस्कार अझै जीवित छ।
यस अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खीर दिवस’को रूपमा मनाउँदै आएको छ। यसमार्फत घरेलु तथा राष्ट्रिय स्तरमा दूधजन्य परिकारहरूको उपभोग प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।

