दाङमा सवारी ठक्करबाट वृद्धको मृत्यु



दाङको तुलसीपुरमा सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर–१४ गोठुवाका अन्दाजी ६५ वर्षीय सन्तु चौधरी रहेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बिहीबार साँझ करिब साढे ७ बजे तुलसीपुर–१२ हरिपौरामा चौधरी घाइते अवस्थामा फेला परेका थिए। टाउकोमा गम्भीर चोट लागेका उनी अचेत अवस्थामा भेटिएका थिए।

उपचारका लागि राप्ती प्रादेशिक अस्पताल ल्याइएका चौधरीको सोही साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको ठक्करबाट दुर्घटना भएको आशंका गरिएको छ। घटनास्थलमा मोटरसाइकलको लेखगार्ड घस्रिएको देखिएको प्रहरीले जनाएको छ।

सवारीसाधन र चालक फरार रहेका कारण खोजीकार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्