ईगल खबर डटकमको दोस्रो वार्षिकोत्सवमा शैक्षिक सामग्री वितरण




एच. आर. मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित ईगल खबर डटकमको दोस्रो वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। तुलसीपुर–३ सातबासस्थित श्री प्राथमिक विद्यालय कल्ले राम्रीकोटमा कक्षा ५ सम्मका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम थापाको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

प्रमुख अतिथि केसीले विद्यालय र शिक्षाको स्तरबारे सराेकारवालाहरु संवेदनशील हुनुपर्ने बताउनुभयो । आज पनि कतिपय ग्रामीण क्षेत्रमा मेघा विद्यालय (माध्यमिक) र प्राथमिक विद्यालयबीचको फरकबारे पर्याप्त बुझाइ छैन। यसले विद्यार्थीको शैक्षिक यात्रामा प्रभाव पार्छ। अभिभावक र स्थानीय तहले दुवै खाले विद्यालयलाई समान महत्त्वसहित बुझेर सहयोग गर्न जरुरी छ। विद्यालय भनेको केवल पढाइको स्थान मात्र होइन, भविष्य निर्माणको जग हो।”- उहाँले भन्नुभयाे ।

“मिडिया हाउसले समाजिक उत्तरदायित्वका रूपमा शिक्षा क्षेत्रमा देखाएको सरोकार प्रेरणादायी छ। सञ्चारकर्मीहरू समाचार लेखन र सूचनामा मात्र सीमित नभई प्रत्यक्ष योगदान दिन सक्ने उदाहरण यस कार्यक्रमले देखाएको छ। यस्तो अभ्यासले ग्रामीण विद्यालयहरूलाई नयाँ ऊर्जा दिनेछ।”- प्रमुख अतिथि केसिले भन्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, वडा नं. ३ का वडा सदस्य राजेन्द्र कुमार गुरुङ लगायत वक्ताहरूले ईगल खबर डटकमले गरेको प्रयास सराहनीय रहेको बताए। उनीहरूले शिक्षामा सहयोग पुर्याउने खालका कार्यक्रमहरूले विद्यार्थीमा सिकाइको उत्साह थप्ने बताएका थिए।

अनलाइन व्यवस्थापक तथा सञ्चालक एच. आर. मगरकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण शान्तराम सेन्चुरीले गर्नु भएको थियाे ।

 

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्