
बढ्दो बलात्कार, हत्या तथा महिला र किशोरीमाथि भइरहेका विभिन्न प्रकारका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दाङको तुलसीपुरमा विरोध प्रदर्शन गरिएको छ।
आज २०८२ चैत १ गते आइतबार तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको वीरेन्द्र चोकमा मानव अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था, महिला मानव अधिकार रक्षक सञ्जाल, अभियन्ता तथा नागरिक समाजका प्रतिनिधिहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्।
देशभर महिलामाथि हुने हिंसाका घटनाहरू निरन्तर बढ्दै जानु, दोषीमाथि प्रभावकारी कारबाही नहुनु र पीडितहरूले समयमै न्याय नपाउनु गम्भीर चिन्ताको विषय बनेको प्रदर्शनकारीहरूले बताएका छन्। उनीहरूले राज्यका सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न ठोस कदम चाल्न माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले महिला तथा किशोरीमाथि भइरहेका बलात्कार, हत्या र अन्य हिंसात्मक घटनाको निष्पक्ष तथा छिटो छानबिन गर्न माग गरेका थिए। दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने र पीडितलाई न्याय सुनिश्चित गर्न राज्य जिम्मेवार हुनुपर्ने उनीहरूको भनाइ थियो।
विरोध प्रदर्शनपछि सहभागीहरूले ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुखलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। ध्यानाकर्षण पत्रमार्फत महिलामाथि बढ्दो हिंसात्मक घटनाप्रति राज्य गम्भीर हुनुपर्ने, घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने तथा महिला सुरक्षाका लागि दीर्घकालीन नीतिगत व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
प्रदर्शनमा सहभागी अभियन्ताहरूले महिलामाथि हुने हिंसा नियन्त्रण नभएसम्म आफ्नो आवाज नरोकिने र आन्दोलन जारी रहने बताएका छन्। उनीहरूले पीडितलाई न्याय दिलाउन र महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न राज्यका निकायहरूले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

