
दाङको तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ। शनिबार राति करिब ९ बजेतिर बिरामी डेढ महिनाको शिशुलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा तुलसीपुर उपमहानगरपालिका ११ उरहरीमा एम्बुलेन्स दुर्घटनामा परेको हो।
हलवार स्वास्थ्य चौकीको रा १ झ २११ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो। दुर्घटनाका क्रममा तुलसीपुर ९ निवासी अनिल पुनकी डेढ महिनाकी छोरी आमाको हातबाट झरेर एम्बुलेन्सको सिटमुनि पुगेको परिवारले जनाएको छ।
एम्बुलेन्स पल्टिएपछि शिशुको मृत्यु भएको परिवारले दाबी गरेको छ। तर प्रहरीले भने शिशु बिरामीसमेत रहेकाले मृत्यु दुर्घटनाका कारण भएको हो वा बिरामी भएकै कारण, त्यसबारे चिकित्सकको परीक्षणपछि मात्र यकिन हुने जनाएको छ।
दुर्घटनामा अन्य तीन जना सामान्य घाइते भएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

