तुलसीपुर १६ बालश्रम मुक्त वडा घोषणा हुदै



तुलसीपुर-१६ भोलि बालश्रम मुक्त वडा घोषणा हुँदै

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ लाई बालश्रम मुक्त वडा घोषणा गरिने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि भोलि बुधबार वडालाई बालश्रम मुक्त वडा घोषणा गरीने जानकारी गराईएको छ ।

तुलसीपुर उपमहानगरपालीका वडा न. १६ का वडा अध्यक्ष शिवानन्द डि.सीका अनुशार वडामा बालश्रममा परेका बालक २० जना र बालिका १५ जना गरी जम्मा ३५ जना रहेको अनुमान छ । तर यी ३५ बालबालिका मध्य अन्यलाई विभिन्न स्थानमा पुर्नस्थापन गरिसकेको छ । भने अन्य ४ जना बालबालिका १६ वर्षभन्दा माथिका भएकाले उनीहरुलाई श्रमबाट मुक्त गराई वडाले पुःस्थापन गर्ने वडाध्यक्षले जानकारी दिनुभयो।

वडामा रहेका स्थानीय टोल विकास संस्था, स्थानीय राजनितिक दलहरु, स्थानीय सामुदायिक तथा संस्थागत विद्यालय, नगर तथा वडा बाल संजाल, युवा संजाल, तुलसीपुर उपमहानगरपालिका बालबालिका तथा सामाजिक विकास शाखा लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाहरु संग सहकार्य गरी वडालाई बालश्रम मुक्त वडा घोषणा गर्न लागिएको बताउनुभयो।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले बालश्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गरीरहेको बताउनुभएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ लाई टेकेर तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ लाई बालश्रम मुक्त वडा घोषणा गर्न लागेको बताउनुभयो । साथै उनले उपमहानगरलाई नै बालश्रम मुक्त उपमहानगर घोषणा गर्ने प्रक्रियामा रहेको बताउनुभयो।

त्यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष तथा बालविज्ञ दुर्गालाल केसीले प्रभावकारी कार्यविधि बनाएर बालश्रम मुक्त वडा घोषणा गर्नु पर्ने सुझाव दिनुभएको छ। वडामा दिर्घकालिन कार्यान्वयन हुने खालको कार्यविधि बनाएर बालश्रम मुक्त वडा घोषणा गर्नुपर्ने उहाँले सुझाब दिनुभयो ।

बालश्रम मुक्त वडा घोषणा तुलसीपुर उपमहानगरपालिका वडा नं १६ पत्रकार भेटघाट कार्यक्रम वडाध्यक्ष शिवानन्द डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले गरेकी थिइन् ।

वडा नं. १७ पनि बालश्रम मुक्त वडा घोषणाका लागि सम्पूर्ण सूचक अन्तिम तयारी अवस्थामा रहेको छ । नेपाललाई सन् २०३० सम्म बालमैत्री घोषणा गर्ने लक्ष्य राखिएको छ । हालसम्म तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर ६, १, २ र १८ लाई बालश्रम मुक्त घोषणा गरिएको छ भने वडा नम्बर १६ लाई बुधबार एक कार्यक्रमको आयोजना गरे घोषणा गर्न लागिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्