नक्कली भुटानी शरणार्थी प्रकरणको पहिलो चरणको अनुसन्धान सम्पन्न



नक्कली शरणार्थी प्रकरण : आज अनुसन्धान प्रतिवेदन बुझाइँदै

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको पहिलो चरणको अनुसन्धान सम्पन्न गरेको छ । प्रहरी परिसर काठमाडौँले झन्डै दुई महिना लगाएर अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको हो । यो प्रकरणमा कम्तीमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालिएको र उनीहरूमाथि मुद्दा दायर गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । ३२ जनामध्ये १६ जना जिल्ला प्रहरीको हिरासतमा छन् भने १६ जना फरार रहेकोले उनीहरूको सुची समावेश गरिएको छ ।

उनीहरूमध्ये केहीलाई ठगी र सङ्गठित अपराधसहित केहीलाई किर्तेको मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । उनीहरूमध्ये केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागबाट पनि मुद्दा चलाउनु उचित हुने प्रहरीको निष्कर्ष छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १ सय ६ जनाबाट कम्तीमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको प्रहरीले जनाएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थीका रुपमा अमेरिका पठाइदिने भन्दै करोडौँ रुपैयाँ लिइएको भन्दै परेको उजुरीमा प्रहरीले २ महिनादेखि अनुसन्धान गरिरहेको छ । पहिलो चरणको प्रतिवेदन बुझाइए पनि थप अनुसन्धान नरोकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्