घोराहीमा सञ्चालित एक महिने काष्ठ कला पुनर्ताजगी तालिमको समापन गरिएको छ । घोराही उपमहानगरपालिका अन्तरगत रहेको पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाको आयोजना तथा दाङ काष्ठ हस्तकला संघको सहजिकरणमा भएको तालिमको आज एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । दाङ हस्तकला संघका अध्यक्ष अशोक थारुको अध्यक्षता तथा घोराहीका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्य एवं नगरको प्रशासन महाशाखाका प्रमुख बासुदेव आचार्यको विशिष्ठ आतिथ्यमा कार्यक्रम गरिएको हो ।
घोराही उपमहानगरपालिकाका उपप्रमुख डिसीले सीपले नागरिकलाई आय आर्जनसँग जोड्न सहयोग पुराउने बताउनु भयो । अहिले धेरै युवाहरु सीप नहुदा बेरोजगार हुनु परेको भन्दै सिप सिकेकाहरु आम्दानीको बाटोमा लाग्न सक्ने बताउनु भएको हो । घोराही उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख आचार्यले संस्कार संस्कृति संरक्षण गर्न यस प्रकारको तालिमले सहयोग पुग्ने बताउनुभयो ।
तालिमका प्रमुख प्रशिक्षक प्रमोद श्रेष्ठले तालिममा उत्पादन भन्दा पनि सिकाइलाइ प्राथमिकता दिएको बताउनु भयो । दाङ काष्ठ हस्तकला संघका संस्थापक सल्लाहाकार तथा लोकसंस्कृतिविद् डा.गोविन्द्र आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तालिमका सहभागि समिर नेपालीले तालिमले आफुहरुलाई सिक्ने अवसर प्रदान गरेको बताउनु भएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार चन्द्रप्रकाश नेपालीले गर्नुभएको थियो ॥