सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
‘ मन्त्रिपरिषद् बैठकले सबै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । यसमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानबिन समिति गठन गरिएको छ ।
बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
आज मङ्गलवार बिहान मेक्सिकोका नागरिकहरु बोकेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको थियो । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा एक नेपाली पाइलटसहित पाँच मेक्सिकोका नागरिकको मृत्यु भएको पुष्टि भएको हो । मनाङ एयरको ९एन–एएमभी हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए । हेलिकप्टर पाइलट सीबी गुरुङले उडाएका थिए ।