रुकुम पश्चिमको जङ्गलमा सात वटा भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ । सोमबार बेलुका मुसीकोट नगरपालिका ७ ग्यामखोलाको बीच जंगलमा रहेको ओडारबाट सात थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
गोप्य सूचनाका आधारमा खटिगएको प्रहरीको टोलीले बेवारिसे अवस्थामा रहेको बन्दुक फेला पारिएको हो । फेला पारिएका बन्दुकहरु बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीको भनाइ छ ।
बन्दुकहरु कसले र किन राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । स्थानीयले सिकार खेल्नका लागि भरुवा बन्दुक प्रयोग गर्ने र ओडारमै लुकाउने गरेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।
प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार