तुलसीपुर नगर जेसिजकाे १३ औँ पद हस्तान्तरण



तुलसीपुर नगर जेसिजले १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

वर्ष २०२४ का अध्यक्ष पुर्ण बिक्रम डाँगीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्को विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री न्यौपानेले जेसीजले नेतृत्व विकास, उद्यमशीलता, सामाजिक, स्वास्थ्य, वित्तीय लगायतका क्षेत्रमा उदाहरणीय काम गरेको बताउनुभयो । जेसिज समाज परिवर्तनको बाटोमा रहेको भन्दै राजनितीक नेतृत्वमा पनि जेसीजले जस्तै पुस्ता हस्तान्तरणको अभ्यास हुनपर्ने बताउनुभएको हो ।

कार्यक्रममा नगर प्रमुख खड्का, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, तुलसीपुर– ९ का अध्यक्ष घनश्याम ढकाल, राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धे, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, जेसीजका पूर्व अध्यक्ष झरेन्द्र खरेल, सुर्य प्रसाद शर्मा, शालीकरमा ओली, महिला अधिकारकर्मी सुष्मा गिरी, त्रिभुवन नगर जेसिजका अध्यक्ष अनन्त रावत लगाएतकाले युवा नेतृत्वको विकासमा जेसीजको भुमिका  महत्वपूर्ण रहेको बताएका हुन् ।

यसैबिच वर्ष २०२५ का नयाँ पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको छ । वर्ष २०२५ का अध्यक्ष सन्दिप भुसाल, कार्यकारी उपाध्यक्ष रमेश रेग्मी, केशवराज न्यौपाने, उपाध्यक्ष धीरज बस्नेत, बसन्त योगी, विकास जंग मल्ल, सुरज केसी, महासचिव बुद्धिराज सापकोटा, सहसचिव सुदिप केसी, कानुनी सल्लाहकार सुरज भण्डारी, जनसम्पर्क अधिकारी मेघराज पोख्रेल, अध्यक्ष सल्लाहकार मनिष जंग शाह र प्रवक्ता सागर न्यौपानेलाई पद हस्तान्तरण गरिएको हो ।

सो  अवसरमा जेसीजले सामाजीक कार्यमा योगदान पुर्‍याएको भन्दै विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई सम्मान गरेको थियो ।  कोषाध्यक्ष शैलेन्द्र कुमार ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वर्ष २४ का महासचिव कमल प्रकाश शर्मा र वर्ष २५ का महासचिव बुद्धिराज सापकोटाले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्