
दाङको तुलसीपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ। महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा सुरु भएको अभियानमा नगरका विभिन्न सरोकारवाला संस्थाहरूको सक्रिय सहभागिता रहेको छ।
सुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख टिकाराम खड्काले पछिल्लो समय हिंसाका स्वरूप परिवर्तन हुँदै गइरहेको उल्लेख गर्दै घर–घरबाटै हिंसा न्यूनिकरणमा भूमिका निभाउन सबैलाई आग्रह गर्नुभयो। उहाँले विशेषगरी युवा पुस्ताले गाउँ–समुदायमा सचेतना अभिवृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयाे ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीले सामाजिक सञ्जालको दुरुपयोगका कारण हिंसा बढ्न थालेको भन्दै यसको सही प्रयोग आवश्यक रहेको बताउनुभयाे। उहाले प्रहरी वर्षभरि हिंसा रोकथाम तथा पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेको पनि जानकारी दिनुभयाे ।

अभियानमा मानव अधिकारकर्मी, महिला तथा बाल अधिकारकर्मी, सामाजिक अभियन्ता, जनप्रतिनिधि र पत्रकारको सहभागिता थियो। विद्यार्थीहरूले ‘लैंगिक हिंसा अन्त्य गरौँ’, ‘घरेलु हिंसा बन्द गरौँ’ जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरी अभियानलाई समर्थन जनाएका थिए।
सामाजिक विकास समिति संयोजक मानबहादुर रावतकाे अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रमकाे सहजीकरण महिला बालबालिका शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको थियाे ।

