दाङ – बबई गाउँपालिका–६, चिसापानी। बाटैमा पर्ने गुन्द्रुम खोलाको किनारामा अहिले हरियाली लहराउँदै छ। खोलाबाट बगेको चिसो पानीको छेउछाउ, पहिले बाँझिएको जमिन अब हरियो खोले सागले ढाकिएको छ। यस हरियालीमा खेतीपाती गर्ने न व्यवसायिक किसान हुन्, न त सरकारी परियोजनाबाट टेवा पाएका उद्यमी। यी हुन् चिसापानीका महिलाहरू, जसले आफ्नै श्रम र सीपको बलमा आम्दानीकाे स्राेत बढाउने यात्रा सुरु गरेका छन्।
एक दशक अघिसम्म गुन्द्रुम खोलाको किनारको जमिन प्रयोगविहीन थियो। वर्षामा बग्ने र हिउँदमा सुक्खा हुने भएकाले कसैले त्यस स्थानलाई उपयोग गर्न सकेका थिएनन्। तर गाउँका केही महिलाले सोचे– “किन न यसलाई केही काम लाग्ने बनाउने?” यताबाट सुरु भयो आत्मनिर्भरता र उत्पादनशक्तिको यात्रा।
“पहिले त केही थाहा नै थिएन,” गीता डाँगी सम्झन्छिन्, “गर्मीमा हरियो तरकारी खानै पाइँदैनथ्यो। त्यसैले खोले साग रोपियो। सुरुमा घरमै खाने र छिमेकीलाई दिने गर्यौं। पछि महसुस भयो– खर्च पनि त चलाउनु पर्छ। त्यसपछि बेच्न थाल्यौं।”
आज ती साना प्रयासहरूले सशक्त परिणाम दिएका छन्। चिसापानीका दर्जनौँ महिलाले गुन्द्रुम खोलाको किनारमा खोले साग खेती गर्दै आफ्नो घरको खर्च धानिरहेका छन्। कुनै औपचारिक तालिमबिना, कृषि उपकरणबिना र ठूला लगानीबिना उनीहरूले देखाएका उदाहरणले ग्रामीण विकास र महिला सशक्तिकरणको नयाँ ढोका खोलेको छ।
संगिता नेपाली पनि ती महिलामध्ये एक हुन्। सुरुमा आफ्नै लागि रोपिएको साग अहिले आम्दानीको स्रोत बनेको छ। “एक पटक काट्दा १३ डोका साग हुन्छ,” उनी भन्छिन्, “पुसदेखि जेठसम्म तीन पटकसम्म काटेर बेच्न सकिन्छ। सिजनभरमा २० देखि ३० हजार रुपैयाँसम्म कमाइ हुन्छ। नुन, तेल, चुरा–पोते किन्न अब कसैसँग माग्नु पर्दैन।”
त्यस्तै, ईन्द्रकुमारी वली र रूपा बुढाथोकी पनि सुरुमा पाँच रुपैयाँ मुठा साग बेच्ने गर्थे। अहिले माग बढेसँगै मूल्य पनि बढेको छ। “रासायनिक मल हाल्दैनौं,” ईन्द्रकुमारी भन्छिन्, “ताजा साग चिसो पानीले हुर्किएको हुन्छ। स्वादिलो पनि हुन्छ। बेच्दा सन्तोष लाग्छ।”
यी महिलाहरूको लागि सागको खेती केवल आर्थिक माध्यम होइन, आत्मगौरवको स्रोत पनि हो। उनीहरू अब आफ्नो खर्च आफैं गर्न सक्छन्, घरमा सजिलै गरि तरकारी साग पकाएर खुवाउन सक्छन् र छोराछोरीका साना आवश्यकता पूर्ति गर्न सक्छन्।
सडक छेउमै पसल, मेहनतको बजार
उनीहरूका पसल कुनै पक्की संरचना होइनन्। खोला छेउबाट साग काटेर ल्याइन्छ, र सडकको छेउमा मुठा बनाएर राखिन्छ। यात्रुहरू, व्यापारीहरू र स्थानीय ग्राहक त्यहीँबाट साग किनेर लैजान्छन्। पसलका लागि घाम–छायाँको प्रवाह छैन, बस्, होस त मेहनत र सन्तोष।
“कहिलेकाहीँ ग्राहक ढिलो आउँछन्। हामी धूपमै कुर्छौं। तर जब साग बेचिन्छ, हाम्रो दुःखको मूल्य पाउँदा खुसी लाग्छ,” रूपा बुढाथोकी भन्छिन्।
सहयोगबिना पनि सम्भव छ विकास
चिसापानीका यी महिलाहरूले कुनै सरकारी कार्यक्रम अन्तर्गत अनुदान वा तालिम पाएका छैनन्। उनीहरूको सारा प्रक्रिया सामूहिक चेतना, परम्परागत ज्ञान र आपसी सहयोगमा आधारित छ। खोलाको किनारलाई सम्भावनाको जमिन बनाउने उनीहरूको विचारले ग्रामीण आत्मनिर्भरताको नयाँ दृष्टान्त दिएको छ।
“खोला जब बग्दैन, हामी रोप्छौं। खोलामा पानी आएपछि रोक्छौं। तीन–चार महिना लगाएर साग हुर्काउँछौं। खर्च पनि खासै लाग्दैन,” गीता डाँगी भन्छिन्।
यो उदाहरणले देखाउँछ कि राज्यको सहायताबिना पनि सशक्त प्रयास र योजनाबद्ध कार्यले ग्रामीण जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। गुन्द्रुम खोला किनार अब केवल भौगोलिक स्थान होइन, सशक्तिकरणको प्रतिक बनेको छ।
यी महिलाहरू अब गाउँमा ‘कमाउने मान्छे’का रूपमा चिनिन्छन्। पहिले पारिवारिक सीमामा सीमित रहेकाहरू अहिले धेरथाेर आर्थिक जिम्मेवारी समेत सम्हालिरहेका छन्।
बाझो जीवनलाई हरियाली बनाउने हातहरू
चिसापानीका महिलाहरूको यो साग खेती अब केवल खेती होइन। यो आत्मनिर्भर बन्ने, आत्मगौरव पाल्ने, र आफ्नो श्रमबाट जीवनयापन गर्ने संस्कृति हो। गुन्द्रुम खोला किनार अब बाँझो जमिन होइन—परिवर्तनको प्रयोगशाला हो।
यो कथा ग्रामीण क्षेत्रमा रहेको असीम सम्भावना र स्थानीय ज्ञानको शक्तिको प्रमाण हो। जब स्थानीय चेतना, परिश्रम र समर्पण एकसाथ जुट्छन्, तब बाँझो देखिएको जमिन मात्र होइन, बाँझो देखिएको जीवन पनि हरियाली बन्न सक्छ।