अपाङ्गता भएका व्यक्तिका लागि बाटेको धुप तथा अगरबत्ती निर्माण तालिम तुलसिपुरमा सम्पन्न



 

अपाङ्गता भएका व्यक्तिहरूलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तुलसिपुर उपमहानगरपालिका–५ मा सञ्चालन गरिएको ७ दिने ‘बाटेको धुप तथा अगरबत्ती निर्माण तालिम’ एक कार्यक्रमका बीच सम्पन्न भएको छ।

उक्त तालिम तुलसिपुर उपमहानगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा, अरनिको अपाङ्गता समावेशी स्वावलम्बन समूहको सहआयोजनामा र अपाङ्ग सेवा संघ दाङको आयोजनामा सम्पन्न भएको हो।

अपाङ्ग सेवा संघ दाङका अध्यक्ष देवा डाँगीकाे अध्यक्षता तथा वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहकाे प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हाे ।

कार्यक्रममा बोल्दै अध्यक्ष शाहले तालिममा सहभागी अपाङ्गता भएका व्यक्तिहरूले बनाएको बाटेको धुप र अगरबत्ती हेर्दा आफू निकै खुशी भएको बताउँदै, “अपाङ्गता भएका व्यक्तिहरूलाई सिप सिकाई आत्मनिर्भर बनाउने, आर्थिक रूपमा सशक्त बनाउने र उद्यम स्थापना गर्न वडाले आवश्यक सहयोग गर्नेछ,” भन्नुभयो। उहाँले वडालाई अपाङ्गता भएका व्यक्तिहरूका लागि नमुना वडा बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजय कुमार शर्माले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि तालिम प्रभावकारी भएको बताउनुभयो। उहाँले वडाले यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

समापन कार्यक्रममा वडा सदस्यहरू भीम बहादुर केसी, मधुमती सुनार, लालमती भण्डारी, राप्ती बहिरा संघ दाङकी निर्देशक प्रतिमा शर्मा, रामनगर टोल विकास संस्थाका अध्यक्ष सेतिराम विक, उपाध्यक्ष आजाद खड्का, साथै तालिमका सहभागी जनक पुरी, राजेश परियार र बेदबहादुर घर्ती मगरले पनि आ–आफ्ना धारणा राखेका थिए।

३० जना अपाङ्गता भएका व्यक्तिहरू र तिनका अभिभावकहरूको सहभागिता रहेको तालिममा प्रशिक्षिका टिका कुमारी गौतम तथा दोभाषे स्मृति योगी थिए।

अरनिको अपाङ्गता समावेशी स्वावलम्बन समूहकी अध्यक्ष रामकुमारी घर्ती डाँगीकाे स्वागत मन्तव्य बाट सुरु भएको समापन कार्यक्रमको सहजिकरण संस्थाकी सचिव बसन्ती ओलीले गर्नुभएको थियो।

 

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्