
लोकगायिका तथा राजनीतिज्ञ कोमल वलीको नयाँ तीज गीत ‘सुनिदेउ शिव’ सार्वजनिक भएको छ। तीज पर्वलाई लक्षित गर्दै तयार गरिएको उक्त गीत वलीकै स्वर, अभिनय र प्रस्तुति रहेको छ।
गायिका वलीको आधिकारिक युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको गीतलाई दर्शक र स्रोताले सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्। गीतमा उहाले हिन्दू धर्ममा महिला श्रद्धा र भक्ति भावले भगवान शिवको आराधना गर्ने परम्परालाई प्रस्तुत गर्नु भएको छ ।
गीतमा वलीको दमदार गायनसंगै आकर्षक नृत्य समेत देख्न पाइन्छ। गीतमा उहाँ आफैँले अभिनय गर्नु भएको छ । जसले गीतको प्रभाव अझ बलियो बनाएको छ। गीतको भिडियोमा पारम्परिक तीजको झल्को दिने पहिरन, नृत्य र भावनात्मक अभिव्यक्ति समावेश गरिएको छ।
गीतमा वलीले भगवान शिवलाई पुकार्दै महिलाको भक्ति, आशा र धर्मप्रतिको समर्पण प्रस्तुत गर्नु भएको छ। परम्परागत शैलीमा तयार पारिएको गीतको संगीत र लय पनि तीजको मौलिकतालाई समेट्न सफल देखिन्छ।
कोमल वली संगीत, साहित्य र लोकसंस्कृतिमा आफ्ना गीत र शैलीका कारण चर्चित नाम हो। हरेक वर्ष जस्तै यस वर्ष पनि उहाले तीजका लागि विशेष प्रस्तुति ल्याउनु भएको हाे।
उहाका पछिल्ला तीज गीतहरु अत्यधिक चर्चित बनेका थिए । जसमा महिला सशक्तिकरण, सामाजिक व्यंग्य र सांस्कृतिक चेतना प्रस्तुत गरिएको थियो।


